नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी बेलायतीदेखि अमेरिकीसम्म



काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा रोजगारी गर्न आउने विदेशीको संख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् ।

सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए ।

पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ ।

२०७९ साल सुरु भएपछिको तीन महिना वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्