नर्भिकको संरचना भत्काउन आफैं पुगे मेयर बालेन, अस्पतालका कर्मचारी आक्रोशित



काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुगेका छन् ।

मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन्द्र आफैं पुगेका हुन् ।

सोमबार दिउासो २४ घन्टे अल्मिेट दिँदै नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले महानगरले हटाउन लागेको हो । तर, नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ । मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए ।

मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लिखित रुपमै संरचना हटाउन नसकिने भनेर पत्र पठाएको उनले बताए ।

बालेन र अस्पतालका कर्मचारीबीच चर्काचर्की
बालेन र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की समेत भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आज भत्काउने तयारीबीच बालेन अस्पताल पुगेका बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका हुन् ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ । तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्