
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोगमाथि छलफल भोलिदेखि संसद्मा अघि बढ्ने भएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको हो ।
१ फागुन २०७८ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन ।
संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो ।
२२ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो ।