नेकपा एमालेबाट काठमाडौं ४ (२) मा आधा दर्जन बढी आकांक्षी



काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघको निर्वाचन घोषणापछि एमालेले सजिलै जित्ने काठमाडौं ४ (२)मा आधा दर्जन बढी पार्टी नेताहरुले आफू उम्मेद्वार बन्ने दावी प्रस्तुत गरेका छन् ।

काठमाडौं ४ बाट नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई टिकट पाउने निश्चित भएपनि प्रदेश सभाका लागि नगर कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रिय विभाग गरी आधा दर्जन नेताहरुले उम्मेद्वारका लागि दावी प्रस्तुत गरेका छन् ।

दावी गर्नेहरुमध्ये केन्द्रिय अनुशासन आयोगका सदस्य केदारराज पुडासैनी, प्रदेश कमिटी सदस्यद्वय संगम गहतराज, उद्धव खरेल, जिल्ला कमिटी सदस्यहरु विदुर विक्रम खड्का, जयराम थापा, लक्ष्मी संग्रौला, रमादेवी राई, नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठ सम्म आकांक्षी रहेका छन् ।

केन्द्रिय अनुशासन आयोगको सदस्य पार्टीको केन्द्रिय सदस्यकै हैसियतमा हुन्छन् । त्यसैले प्रदेश सांसद दावी गर्नेहरुमध्ये केदार राज पुडासैनी माथिल्लो कमिटीका व्यक्ति हुन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा लामो समयदेखि बसोबास गर्ने पुडासैनी यस क्षेत्रको एमालेका पुरानो र प्रतिवद्ध कार्यकर्ता हुन् ।

प्रदेश संगठन कमिटी सदस्य संगम गहतराज दलित समुदायबाट प्रतिनिधित्व गर्ने पार्टीको माथिल्लो कमिटीका व्यक्ति हुन् । गत स्थानीय तहमा नगर कार्यपालिका सदस्य भई योगदान पुर्याएका उनी लामो समयदेखि नेकपा एमालेको मुल धारमा योगदान पुर्याईरहेका छन् ।

उद्धव खरेल बूढानीलकण्ठ नगरपालिकाका निर्वतमान नगरप्रमुख हुन् । बूढानीलकण्ठ २ मा स्थायी बसोबास भएका उनी काठमाडौंको उत्तरी भेगका पुराना मध्येका पार्टी संगठक हुन् । शिक्षण पृष्ठभूमिबाट राजनीतिमा होमिएका उनी २०५४ सालमा तत्कालिन चपली गाविसका अध्यक्ष तथा २०७४ मा बूढानीलकण्ठ नगरपालिकाका प्रमुखमा निर्वाचित व्यक्ति हुन् ।

विदुर विक्रम खड्का नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका पूर्व कार्यालय सचिव र वर्तमान सचिवालय सदस्य हुन् । बूनपा २ मै स्थायी बसोबास गर्ने खड्का एमालेको राजनीतिमा आजसम्म अवसर नपाएका कर्तव्यनिष्ट पार्टी नेता हुन् ।

काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा बूढानीलकण्ठ नगरपालिका इन्चार्ज लक्ष्मी संग्रौला एमालेका पुराना मध्येका एक जिल्ला कमिटी सदस्य हुन् । विभिन्न संघसंस्था मार्फत सामाजिक गतिविधिमा सक्रिय उनी बूढानीलकण्ठ १० का स्थायी बासिन्दा हुन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य जयराम थापा २०७४ को स्थानीय निर्वाचनदेखि नगरपालिका प्रमुख र प्रदेश सांसदका दावेदार हुन् । बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष भई धार्मिक क्षेत्रमा स्थापित बनेका थापा अनेरास्ववियुको राजनीतिदेखि पार्टी राजनीतिसम्म अनवरत रुपमा क्रियाशील रहेका छन् । कानुनमा स्नात्तकोत्तर गरेका थापा कुटनीतिक कानुनमा पिएचडीको उपाधी उन्मुख छन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य रमादेवी राई निवर्तमान बूढानीलकण्ठ नगरपालिकाको उपप्रमुख हुन् । शैक्षिक र राजनीतिक पृष्ठभूमीबाट आफूलाई स्थापित गराएकी राई महिला अधिकारको क्षेत्रमा समेत क्रियाशील छन् ।

नेकपा एमाले नगर कमिटीका सचिव श्रीकृष्ठ श्रेष्ठ बूढानीलकण्ठ १३ चुनिखेलका निवर्तमान वडाध्यक्ष समेत हुन् । गाविस हुँदादेखि नेकपा एमाले चुनिखेलको विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका श्रेष्ठ विशेष गरी नेवारी समुदायमा स्थापित छन् ।

बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा पर्ने काठमाडौं ४ (२) का सवै वडाका वडाध्यक्षहरु नेकपा एमालेबाट निर्वाचित छन् । पार्टीको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य डा. राजन भट्टराईकै प्रभावमा प्रदेश सांसद छनोट हुने भएकोले यसपटकको टिकट कसले पाउँछ भन्ने ज्ञारेन्टी गर्ने अवस्था छैन । यद्धपी प्रभावशाली नेताका रुपमा रहेका डा. भट्टराईको छनोटले नै आगामी उम्मेद्वार तय देखिन्छ ।

कपन क्षेत्रबाट बर्तमान नगरप्रमुख मिठाराम अधिकारीले अवसर पाएकोले प्रदेश सांसदमा कपनबाट उम्मेद्वार पर्ने सम्भावना भने न्यून देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्