नागोयामा दोश्रो नेपाल फेस्टिभलको तयारी तीब्र



जापान । जापानको राजधानी टोकियोमा १२ औँ नेपाल फेस्टिबल सम्पन्न भएसँगै नेपालीहरुको बाक्लो जनघनत्व रहेको नागोयामा पनि आगामी सेप्टेम्बर ३ र ४ मा दोश्रो नेपाल फेस्टिभलको तयारी तीब्र पारिएको छ ।

जापानीहरुलाई नेपालको मौलिक पहिचान सहित नेपालमा जापानी पर्यटकहरू बढाउन टिपिकल नेपाली खाना, पहिरन तथा साँस्कृतिक प्रस्तुती गरिने गरि फेस्टिभल तयारी सुरु गरिएको हो । यस्तै फेष्टिभलमा नेपालको संस्कृतिका बारेमा जानकारी दिने स्टलहरू समेत राखिने तयारी गरिएको छ ।

फेस्टिभलमा रेष्टुरेन्ट तथा व्यवसायिक गरि २७ वटा स्टल सहभागिता गराईने तयारी गरिएको नेपाल फेस्टिभल नागोयाका संयोजक दिपक कार्कीले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

सेप्टेम्बर ३ र ४ तारिक दुई दिन आयोजना हुने फेष्टिभलमा आदिवासी जनजाति सहित नेपाली कला, संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल सरकारका विशेष प्रतिनिधिहरु सहित जापान सरकार तथा नागोया लगायतका शहरका विशेष पदाधिकारीहरुलाई सहभागिता गराउने तयारी समेत गरिएको आयोजकले जनाएको छ ।

नागोयाको नाकाकु साकाई इडिओन हियासा स्वायर पार्कमा फेस्टिभल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्