ताइवानबारे नेपालको समर्थन कायमै रहने चीनको विश्वास



काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गरेकी छन् । आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने उनले विश्वास व्यक्त गरेकी छन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउले बुधबार विज्ञप्ति जारी गर्दै ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी हुन् ।

‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन् । दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन् । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ’, चिनियाँ राजदूत होउ यान्छीले विज्ञप्तिमा भनेकी छन् ।

अमेरिकाले ताइवानलाई चीनबाट टुक्र्याउन खोजेको आरोप चीनले लगाइरहेको छ । महाशक्ति अमेरिकाले आफ्नो मिसनमा नेपालजस्ता साना छिमेकीको पनि समर्थन जुटाउन प्रयत्न गर्ने र त्यसमा नेपालले समर्थन जनाए त्यसले चीनको रणनीतिक सुरक्षा स्वार्थमा आघात पुग्ने चिनियाँ बझुाइ छ । ताइवान स्वतन्त्रताको विरोध नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको राजदूत होउले उल्लेख गरेकी छन् ।

‘हामी विश्वास गर्छौं, नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडान बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्’, राजदूत होउले भनेकी छन् ।

नेपाल सरकार र जनताले विगतमा झैं आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्ने चिनियाँ राजदूतको अपेक्षा छ । अमेरिकी सभामुख पेलोसिले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्तविपरीत रहेको चीनको दाबी छ । भ्रमणले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंघन गर्दै चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको राजदूत होउले उल्लेख गरेकी छन् ।

‘सभामुख पेलोसीको भ्रमणले ताइवान क्षेत्रको शान्ति र स्थिरतामा नकारात्मक असर पारेको छ। चीनले यसको कडा विरोध गर्छ र यसबारे अमेरिकासँग भर्त्सना पनि गरिसकेको छ’, राजदूत होउले भनेकी छन्।

विश्वमा एउटा मात्रै चीन रहेको र ताइवान चीनको अभिन्न अंग रहेको तथ्यलाई सन् १९७१ म संयुक्त राष्ट्रसंघीय महासभाको २७५८ प्रस्तावले मान्यता दिएको उनले उल्लेख गरेकी छन् । सन् १९७९ मा चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापित हुँदा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मात्र कानुनी रुपमा मान्ने भनी सहमति जनाएको उनले स्मरण गरेकी छन् ।

‘तर अहिले अमेरिकाको बहालवाला सभामुख पेलोसीले ताइवान भ्रमण गर्नु र त्यहाँ भेटवार्ता गरेर औपचारिक रुपमै ताइवानसँग सम्बन्ध राख्नु भनेको ताइवानलाई भड्काउन खोज्नु हो। यो चीनलाई स्वीकार्य छैन, चिनियाँ जनता यसको विरोध गर्छन्’, उनले भनेकी छन् । ताइवानको सवालमा चिनियाँ सरकार र जनताको अडान निरन्तर रहेको राजदूत होउले उल्लेख गरेकी छन्।

‘यो चीन राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता हो’, उनले विज्ञप्तिमा भनेकी छन् । ​ताइवान चीनको अंग रहेको उल्लेख गर्दै उनले मातृभूमिको पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीको साझा आकांक्षा र पवित्र दायित्व रहेको बताएकी छन् ।

‘अमेरिकी सभामुखको भ्रमणको चीनले जवाफ दिनेछ। चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक उपाय अवलम्बन गर्नेछ। यसबाट उत्पन्न हुने सबै नतिजा अमेरिकी पक्ष र ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिले बेहोर्नुपर्नेछ’, विज्ञप्तिमा अमेरिकालाई चेतावनी दिँदै भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्