ठेक्का लगाइएका भरतपुरका दर्जनौँ सडक अलपत्र भएको मेयर रेनुको गुनासो



चितवन । भरतपुरमा ठेक्का सम्झौता भएका दर्जनौँ सडकहरू अलपत्र अवस्थामा परेका छन् । निर्माण व्यवसायीहरूले भरतपुरमा ठेक्का सम्झौता भएका सडक निर्माणका कामहरू विभिन्न बहानामा पूरा गरेका छैनन् । ठेकदारको ढिलासुस्ती र लापरबाहीले सडक निर्माणको काम अलपत्र परेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘भरतपुर महानगरपालिकामा दर्जनौँ सडकहरू ठेक्का लगाइएको छ, ठेकदारहरूको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेका छन् ।’

मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरू विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेका जानकारी गराइन् । उनले भनिन्, ‘कति ठेकेदारहरू सडक अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिर बसेका छन् ।’

उनका अनुसार तोकिएको समयमा सयौँ सडकहरू अहिले निर्माण सम्पन्न हुनुपर्ने थियो, तर ठेक्का भएको छ । काम हुँदैन ।

ठेकदारहरूले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका दाहालले बताइन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक भएको उनको भनाइ थियो ।

‘महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकदारले काम लिएर विभिन्न बहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ’ मेयर दाहालले बताइन् ।

अहिले वर्षातको समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताइन् । ‘कहिले वर्षात भयो भन्दै काम रोकिएको छ’ उनले भनिन्, ‘कहिले निर्माण सामग्री अभावको बहानामा रोकिएको छ, कहिले निर्माण सामग्रीको मूल्यवृद्धि भयो भनेर निर्माण रोकिएको छ, हैरान भइसकिएको छ ।’

पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरू अलपत्र परेका छन् । महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता गर्दै आइरहेको छ, तर काम भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्