नेपाली काँग्रेसबाट काठमाडौं–४ को संघीय सांसदमा बासुदेव गौतमको दावेदारी !



काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश तथा संघीय निर्वाचनलाई केन्द्रित गरि विभिन्न व्यक्तिले आफ्नो उम्मेदवारी दावेदारी गरिरहेको अवस्थामा नेपाली काँग्रेसबाट काठमाडौं–४ को संघीय सांसदमा बासुदेव गौतमले दावी गरेका छन् ।

काठमाडौंमै जन्मिएर समाजसेवा र उद्यमशीलताको कारण स्थापित भएका गौतम लामो समयदेखि बूढानीलकण्ठ–९ मा बसोबास गरिरहेका छन् भने स्थानीय समुदायमा उनी निकै लोकप्रिय रहेको स्थानीयहरु बताउँछन् ।

गत निर्वाचनमा संघीय सांसद गगन थापाको चुनावी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै युवा, बुद्धिजीवी र व्यवसायीहरुलाई परिचालन गरेका गौतमले यसपटक आफ्नै दावेदारी प्रस्तुत गरेपछि काँग्रेसलाई थप चुनौती थपिएको छ ।

विपि कोईराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, सुजाता कोईराला हुँदै अहिले डा. शशांक कोईरालाको टिममा बसेर काम गरिरहेकाले पनि गौतमको दावीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उम्मेदवारीबारे परिवर्तन खबरसँगको कुराकानीमा गौतमले भने, ‘अघिल्ला निर्वाचनहरुमा गगन भाईलाई निशर्त सहयोग गरियो । यसपटक भाइले मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’

एमसीसी पास गराउन निकै दौडधुप गरेका संघीय सांसद गगन थापाले एमसीसीको कारण नेपालमा अमेरिकी सेना आएमा आफूलाई चारपाटा मोडेर थानकोट कटाउन चुनौती दिएका छन् भने आगामी निर्वाचनमा काँग्रेसको तर्फबाट संघीय सांसदमा वासुेदेव गौतमको दावीले पनि उनलाई थप चुनौती दिएको काँग्रेस निकट श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्