पेट्रोलको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग



काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२‍‍.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बहानाबाजी गर्दै मूल्य नघटाएको भन्दै अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो ।

मंगबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्थामापनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाएको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएको पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।

विगतमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन भइरहेको अवस्था छ, अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको छ, देशमा राज्य छ कि छैन भन्ने अवस्था छ । मूल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घटदा नघटाइ, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त रहेको छ,’ अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा यथाशीघ्र मूल्य समायोजन नभए आन्दोलनमा उत्रिने अनेरास्वियुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्