आफ्नो निर्वाचन क्षेत्रका जनताले दुःख पाउँदा केहि नगर्ने फटाहाहरुलाई अब जनताले जिताउनु हुँदैन (भिडियो सहित)



काठमाडौं । आफूलाई भावी प्रधानमन्त्री दावी गर्नेहरुले १० वर्ष प्रत्यक्ष निर्वाचित हुँदा र ५ वर्ष समानुपातिकमा यो क्षेत्रका जनताको प्रतिनिधित्व गर्दा यहाँको विकास निर्माणको लागि के गरेँ ? हरेक वर्षामा ठूलो पानी पर्ने वित्तिकै आतंकित हुनुपर्ने कपन क्षेत्रका जनतालाई परेको दुःख समाधान गर्न के पहल गरेँ ? यस्ता नालायकहरु प्रधानमन्त्री भए भने देश कस्तो बन्छ ? समाज कसरी अगाडि जान्छ ? मुलुक बनाउने ले त पहिला आफ्नो ठाउँ बनाउने होला नी ? तपाई राम्रो नहुन्जेल त अरुलाई राम्रो गर्नु भन्ने आँट हुन्छ र ?  मेरो घर ठिक हुँदा मैले पल्लो घरको मान्छेलाई यसो गरौं भन्न सक्छु । मेरो टोल राम्रो हुँदा, मेरो वडा राम्रो हुँदा पो अर्काे वडा, नगरपालिका बनाउँ भन्ने हुन्छ । जसले आफूलाई पटक–पटक निर्वाचित गराए, सोहि ठाउँका जनताको पीर मर्का बुझ्दैनन्, यत्रो संकटमा परेका जनताको त्यो अवस्थालाई ध्यान दिदैन त्यस्तो मान्छेले देश बनाउँछ ? जनताको बारेमा सोच्छन् भन्ने कुरा कसरी पत्याउने ?  त्यस्तो मूर्ख बनाउने कुराको विरुद्धमा हामी लाग्नु पर्दैन ?

काठमाडौं ४ अन्तर्गतको बूढानीलकण्ठ नगरपालिकाको खासगरी कपन क्षेत्रले डुवानको समस्या भोग्दै आईरहेको छ । डुवान समस्या समाधान गर्न मेरो पहलमा आनीगुम्बादेखि कल्भर्ट हाल्न ६४ करोड बजेटको व्यवस्था गरी अहिले आनीगुम्बा क्षेत्र डुबान मुक्त भएको छ । हाम्रो सरकार नभएकोले गर्नुपर्ने जति काम ठेकेदारले गरेन । त्यसैले अहिले पनि वडा नम्बर १२ र १० को अधिकांश क्षेत्र डुबानको समस्या भोगिरहेको छ । स्थानीय सरकारसँग मिलेर यो समस्या सकेसम्म छिटो समाधान गर्नुपर्छ त्यसको लागि म आफ्नो ठाउँबाट पहल गरिरहेको छु । 

करिब ३ वर्ष एमाले नेतृत्वको सरकार हुँदा मेरै पहलमा रिङ्गरोड बाहिर मेलम्ची परियोजना विस्तारको लागि अरबौँ बजेट विनियोजन गराएँ । कपन क्याम्पसको भवन निर्माणको लागि करोडौँ बजेटको व्यवस्था गरेँ । कपन आसपासका सबै बाटोहरुको लागि करोडौँको योजना सम्पन्न गरियो अन्य स्थानीय खानेपानीका दर्जनौँ परियोजना, दर्जन बढी सार्वजनिक पार्क निर्माण गरियो । गरेको काम पनि गर्यौं भन्न नसक्ने हामी कस्ता कार्यकर्ता हौँ ?

२०४७ सालपछि अधिकांश समय काँग्रेस नेतृत्वको सरकार छ । करिब १५ वर्षदेखि यहाँबाट काँग्रेसले चुनाव जितिरहेको छ । काँग्रेसका प्रतिनिधिहरुले के गरेँ ? अब त्यसको जवाफ जनताले खोज्नुपर्दैन ?

लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको हरेक पाँच वर्षमा तपाईले आफूले चाहेको व्यक्तिलाई निर्वाचित गरेर पठाउनुहुन्छ । उसले गरेका कामको मूल्यांकन गर्न पाउनुहुन्छ । आफूले जिताएको प्रतिनिधिले ठिक गर्याे कि बेठिक ?  राम्रो गर्याे कि नराम्रो ? भने अनुसार गर्याे कि फरक गर्याे ? जनतालाई एउटा कुरा गर्ने, काम अर्काे गर्ने गर्छ कि गर्दैन । यसको मूल्यांकन गर्ने बेला आएको छ ।

डुबान समस्या समाधानको लागि हामीले नै किन यहाँ कल्भर्ट बनाउने काम गर्नुपर्याे ? किन त्यो भन्दा अगाडि १०/१५ बर्ष अघिदेखि प्रतिनिधित्व गरेका साथीहरुले गर्न सकेनन् वा गरेनन् ? त्यो मूल्यांकन गर्ने तपाईहरुको बेला आएको छ ।

पैयुँटारदेखि शहिद मार्गसम्मको बाटो पिच गर्न हामीले पटक–पटक बजेट राख्यौँ, बाटो निर्माण सम्पन्न गर्न ५० लाखको बजेट छुट्यायौं, अहिले त्यही पैसा पनि काटिएको छ ।  टेण्डर नभएको भए मेलम्ची खानेपानी आयोजनाको २ अर्व ५४ करोड पनि काटिने रहेछ । अनि यस्ता नेता भनाउँदाहरु अब भोट माग्न तपाईको घरदैलोमा आउँदैछन् ।

ती नेता जो तपाईहरुको डुबान, ढल, बाटो, खानेपानी, सार्वजनिक जग्गा संरक्षण, शिक्षा र स्वास्थ्यको बारेमा सोच्दैनन् । हरेक विकास निर्माणको लागि हामीले बजेट ल्याउनुपर्छ । त्यस्ता जनप्रतिनिधि ठूल्ठूला कुरा गर्ने काम नगर्ने हुन् । अनि तपाई हामी उसले मलाई भेट्यो, मलाई यस्तो भन्यो भनेको आधारमा फेरी भोट दिनुभो भने आउँदो ५ बर्ष तपाईहरु फेरी डुबानमा बस्नुपर्ने हुनसक्छ । त्यसैले अब तपाईहरुले फैसला गर्ने बेला आएको छ । फैसला जनताले पाँच बर्षमा एकचोटी गर्न पाउँछन् । सही व्यक्ति, सही विचार, दृष्टिकोण बोकेको पार्टीलाई भोट दिनुपर्छ । मलाई त व्यक्तिगत रुपमा फलानोले चिनेकै छैन, फलानोले यसो गर्याे, उसो गर्याे भन्ने आधारमा तपाईहरुले आफ्नो धारणा बनाउनु भयो भने आउँदो ५ बर्ष मात्र होइन ५० बर्षसम्म पनि दुःख पाउनु हुन्छ ।

नेपाली काँग्रेस भन्ने पार्टीले २०४६ पछि यो मुलुकमा करिब २४ वर्ष सधैं देशको नेतृत्व लिईरहेको छ । बहुदल आएको करिब ३१ वर्षमा अधिकांश समय नेपाली काँग्रेसको सरकार बनेको छ । काँग्रेसले देशको नेतृत्व गर्दा मुलुक कहाँ पुग्यो ? भएका कल, कारखाना, उद्योगहरुको अवस्था के भयो ? अनि हामीले तीन वर्ष संघीय सरकार र पाँच वर्ष स्थानीय तहको नेतृत्व गर्दा परिवर्तनको अनुभूति भयो कि भएन ?

यसको मूल्यांकन गर्ने र छुट्याउने कुरा अब तपाईहरुले गर्नुपर्छ । यहाँ अहिले हल्ला के फिजाईदैछ भने सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भनेर आम हल्ला फिजाउने, सबै खराब हुन भन्ने अनि अन्तिममा यो व्यवस्था नै खराब सबै खराब भन्ने तर्फ मुलुकलाई लगिदैछ । यस्ता तत्वहरुबाट हामी जोगिनुपर्छ । मुलुक  जोगाउनुपर्छ । हाम्रो मुलक राम्रो बनाउन सकिन्छ । यो मुलुक बनाउनका लागि लोकतान्त्रिक व्यवस्थाबाट मात्रै सम्भव छ भनेरै हामीले विगत ७० वर्षदेखि आन्दोलन गर्याैं । अहिले लोकतान्त्रिक व्यवस्था आएको छ । अव यो लोकतान्त्रिक व्यवस्थाको माध्यमबाट मुलुकको परिवर्तन हुनसक्छ, हुनुपर्छ भन्ने विश्वास जनतालाई दिलाउने काम गर्नुपर्छ । मुलुकको समृद्धी नेकपा एमालेले नै गर्नसक्छ भन्ने कुरा जनतालाई बुझाउनु पर्छ ।

(नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईले दिनुभएको सार्वजनिक मन्तव्यको आधारमा तयार पारिएको लेख ।)

प्रतिक्रिया दिनुहोस्