
काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि छानबिन गर्नेगरी बनेकाे विशेष संसदीय समितिकाे अपराह्न ४ बजे पुन: बैठक बस्दैछ । समितिकाे बैठक यसअघि बिहान पनि बसेकाे थियाे । बिहान बसेकाे बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबले सीसीटीभी फूटेज उपलब्ध गराएकाे छ । रिकभर भएकाे भनिएकाे उक्त फूटेज अपराह्नकाे बैठकमा विज्ञहरूसँग राखेर हेरिने समितिले जनाएकाे छ । समिति सदस्य लक्ष्मणलाल कर्णले परिवर्तन खबरसँग भनेका छन्, ‘विज्ञहरू बाेलाएका छाैँ । उहाँहरूकाे साथमा फरेन्सिक ल्याबले उपलब्ध गराएकाे सीसीटीभी फूटेज अध्ययन गर्छाैँ ।’
बिहानकाे बैठकपछि समिति सचिव सुरेन्द्र अर्यालले पनि विज्ञहरू राखेर मात्रै उक्त फूटेजबारे अध्ययन गर्ने बताएका छन् ।
तर समिति अर्का एक सदस्य भने फरेन्सिक ल्याबको रिपोर्टबारे प्रष्ट नभएपछि विज्ञ बोलाइएकाे बताए । उनले भनेका छन्, ‘रिपाेर्टमा केही देखिएकाे छैन । खाेल्न नआएर पनि हुनसक्छ । त्यसबारे खास रूपमा प्रष्ट भएन । त्याे भएर विज्ञहरू बाेलाइएकाे छ । अब उहाँहरूसँगै बसेर ४ बजेकाे बैठकमा अध्ययन गर्छाैँ ।’
रिकभर भएकाे भनिएकाे उक्त भिडिओमा केही नदेखिएकाे उनकाे भनाइ छ । ‘केही झलकहरू देखिए पनि त्यहाँ खास केही देखिँदैन,’ ती सदस्यले भनेका छन्, ‘अब विज्ञहरूसँग अध्ययन गर्छाैँ । विज्ञहरूले त्यसमा केही क्ल्यूहरू दिनुहाेला ।’
आव २०८९/८० काे बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति संलग्न गराएर करका दरहरू हेरफेर गरेकाे आराेप लागेपछि अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका छन् । साेही गठित समितिले अध्ययन गरिरहेकाे छ ।





