राष्ट्रिय सभामा गृहमन्त्रीकाे जवाफ- ‘नागरिकताको व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको होइन’



काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भन्ने खालको आशंका नगर्न सांसदहरूलाई अनुराेध गरेका छन् । साेमबार बिहान बसेकाे राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै उनले भनेका छन्, ‘त्यस्ता लाखौं युवालाई न्यूनतम सहमतिमा भए पनि नागरिकता बनाउने वातावरण बनाऔं भनेर विधेयक ल्याएको हो ।’

उनले साढे ६ लाख युवाले विविध कारण नागरिकता नपाएको उल्लेख गर्दै ती युवा नागरिकताको अभावमा विश्वविद्यालयमा भर्ना हुन, रोजगारीका लागि आवेदन दिन, बैंकमा खाता खोल्न लगायतका काममा सामेल हुन नपाएकाे बताएका छन् । ‘संविधानले सबैलाई समान मानेको छ, त्यो कुरालाई सरकारले सम्मान गर्दछ,’ उनले भने, ‘नागरिकताको हकमा ऐन बनाउँदा वा विधेयक ल्याउँदा संविधानका प्रावधानलाई नै आधार बनाउनु पर्छ । त्यसैले संविधानअनुकूल नै विधेयक ल्याइएको छ ।’

उनले नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भनेर आशंका नगर्न सांसदहरुलाई आग्रह गर्दै नेपाली नागरिकलाई व्यवस्थित ढंगले नागरिकता दिन सरकारले विधेयक अघि बढाएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्