करका दर हेरफेर प्रकरणमा समितिले लियाे मन्त्रीसहित १० जनासँग बयान



काठमाडौँ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बिहीबार पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ ।

संसदीय विशेष छानबिन समितिले पूर्व अर्थमन्त्री शर्मासँग बिहीबार बिहान समितिको कार्यकक्षमा बयान लिएको हो । बयानपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले निकाल्ने बताए ।

त्यस्तै छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बिहीबारको बयानमा पूर्व अर्थमन्त्री शर्माले सदनमै भनेको कुरा दोहोर्‍याएको बताए । शर्माले बजेट निर्माणका क्रममा कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएको अर्यालले बताए ।

त्यस्तै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सिसिटिभी फुटेज भने अहिलेसम्म प्राप्त गर्न नसकिएको सचिव अर्यालले बताए । सिसिटिभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको अर्यालले बताए । प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिन अघि बढ्ने उनको भनाइ छ ।

समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधपुछ गरेको थियो । समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका १० जना अधिकारीसँग छलफल गरिसकेको छ ।

यस्तै समितिको १० दिनको समयसीमा बिहीबार सकिएको छ । छानबिनका काम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि सभामुखलाई आग्रह गरिएको सचिव अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्