अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको परिसंवाद हुँदै



काठमाडौं । राष्ट्रिय युवा परिषद्को आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजालले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको अवस्था/समस्या/सम्भाव्यता विषयक परिसंवाद कार्यक्रम गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजालका अध्यक्ष सुवास ढकालका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले दिने सरल कर्जा कार्यान्वयन, वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलन गरी स्वदेशमै लगानी गर्ने वातावरणको सुनिश्चितता र ७७ वटै जिल्लामा सञ्जाल गठन लगायत वैदेशिक रोजगारीको क्रममा युवाहरुले भोगेका तीतामिठा अनुभव, सीप, ज्ञान र क्षमताको विषयमा परिसंवाद गरिनेछ ।

त्यस्तै आज (साउन ५ गते) राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७  सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन भएको छ । ‘अन्तरपुस्ताको ऐक्यबद्धता,  सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अगस्ट १२ मा विश्वब्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।

आगामी श्रावण २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । यसैगरी परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा  १९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्