कामपा ७ को एमाले पूर्ण बैठकमा डा. राजन भट्टराईले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै काम गर्ने मै हुँ’



काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. ७ कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचनको समिक्षा सहितको पूर्ण बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले कार्यकर्ताको गुनासो सम्बोधन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा सवैभन्दा धेरै योजना पार्ने र जनताको बिच आउने मध्येको म अग्रिम सूचीमै रहन्छु । हार्नेको हिसाब गर्ने हो भने नेपाल अधिराज्यभरी सबैभन्दा धेरै काम गर्ने म नै हुँ ।

डा. राजन भट्टराईले निर्वाचन क्षेत्र नं. ४ मध्ये हिजो जितेका मध्ये आज हारेको वडामा कामपा ७ मात्र भएको बताउँदै आगामी संघीय तथा प्रादेशीक निर्वाचनमा जसरी पनि वडा नं.७ लाई नेकपा एमालेको लालकिल्ला बनाउन निर्देशन दिए ।

पार्टीभित्र एक उम्मेद्वारले अर्काे उम्मेद्वारलाई सहयोग नगरी हारेको भन्ने पराजीत उम्मेद्वारहरुले एक अर्कालाई आरोप लगाउन थालेपछि डा. भट्टराईले अघिल्लो निर्वाचनमा ४ (ख)बाट आफूले ३२०० मत कमी ल्याउँदा समेत सूर्य चिन्हबाटै उठेका उम्मेद्वारलाई कुनै दोष नलगाएको भन्दै स्थानीय निर्वाचनमा केही सय मत तलमाथि हुनुलाई अन्तरघातको रुपमा नबुझ्न कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा एमालेका क्षेत्रीय संयोजक विदुर विक्रम खड्काले पार्टीभित्र आफूले जित्दा आफ्नो प्रभाव भन्ने र हारेपछि साथीहरुले हराए भन्न मिल्दैन भन्दै आगामी निर्वाचनमा केन्द्रित भई डा. राजन भट्टराईलाई जिताउन सवैले लाग्नुपर्ने बताए ।

नेकपा एमालेका क्षेत्रीय सचिव टिका पराजुलीले विगतको निर्वाचनबाट पाठ सिक्दै आउँदो निर्वाचनमा समयमै टिम बनाएर खट्नुपर्ने, पार्टीका टोल कमिटीहरुलाई चलायमान बनाउनुपर्ने र युवा पंक्तिमाझ पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेबाट कामपा वडा नं. ७ को वडाध्यक्षमा थोरै मतले पराजित कृष्णमणि भट्टराईले पार्टी कार्यकर्ता अराजक भएका, चित्त नबुझेका कुराहरु सामाजिक संजालमा लेखीहाल्ने र आफ्नो निर्वाचनमा महानगर र जिल्ला कमिटीका पार्टी नेता सुतेर बसेको कारण पार्टीले निर्वाचनमा पराजय भोगेको तितो अनुभव सुनाए ।

बैठकमा नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित पार्टी वडा कमिटीका उपसचिव आरिफ खानलाई डा. राजन भट्टराईले खादा ओढाई बधाई दिएका थिए ।

नेकपा एमाले कामपा ७ का पार्टी अध्यक्ष दिपेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न बैठक वडा पार्टी सचिव रामकृष्ण पौडेलले संचालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्