सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुवात



काठमाडौं । नबिल बैंकले यसैवर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुवात भएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाहरु सुरु भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा हेमराज पन्तले शुक्रबार एक समारोहकाबीच कार्यक्रमको सुरुवात गरेका छन् ।

कार्यक्रममा पन्तले अचेल संस्थाहरुको फाइनान्सियल अडिट जत्तिकै महत्वपूर्ण सोसियल अडिट पनि भएकाले नबिल बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै नबिल बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकले यसवर्षबाट दीर्घकालिन सोचका साथ यो कार्यक्रम सुरु गरेको र यसले सयौं युवाहरुलाई उद्यमशील बनाउँन मद्दत पुग्ने विश्वास गरेका छन् ।

यसअघि विभिन्न सामाजिक क्रियाकलापमार्फत सामाजिक उत्तरदायित्व निभाउँदै गर्दा त्यो क्षणभरलाई मात्रै हुने बताउँदै उनले यसपल्ट युवाहरुलाई नै उद्यमशील बनाउँन यो कार्यक्रम लञ्च गरिएको जानकारी गराए ।

वर्षभरि नै चल्ने यस कार्यक्रममा सहभागिताका लागि एसपीए कलेजले यसअघि नै खुला आवेदन आह्वान गरेको थियो । जसमा १०० भन्दा बढी आवेदन प्राप्त भएका थिए । जसबाट पहिलो चरणमा प्रमाणपत्र कार्यक्रमका लागि २२ जनालाई सहभागिता रहेको छ ।

आवेदन दिएका बाँकी आवेदकलाई पनि क्रमशः कार्यक्रममा समावेश गरिदै लगिने कार्यक्रम संयोजक तथा एसपीएका अध्यापक प्रेमराज जोशीले बताए ।

समाजमा सकरात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव श्रृजना गर्ने, कुनैपनि परियोजनाहरु वा सोचलाई उद्यममा रुपमान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसईई कार्यक्रमको लक्ष्य रहेको नबिल बैंक रातोपुल शाखाका प्रबन्धक तपेन्द्र कुँवरले जानकारी दिए ।

कार्यक्रममार्फत सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानी योग्य व्यवसायिक योजना गर्न सक्ने हुने विश्वास एसपीए कलेजका प्रमुख योगराज उपाध्यायले विश्वास व्यक्त गरेका छन् । कलेज प्रमुख उपाध्यायले नबिल बैंकले यो कार्यक्रमसँग सहकार्यको अवसर दिएकोमा बैंक परिवारप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो । नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्