बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाले त्रिवेणी चोकको हिलाम्य सडक तत्काल मर्मत गर्ने



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको त्रिबेणी चोकदेखि करिव ९ सय मिटर मुख्य सडक हिलाम्य भएपछि उपभोक्ता समितिद्वारा आयोजित छलफल मार्फत तत्कालै हिलो हटाई सडक सुचारु गरिने भएको छ ।

खरिबोट त्रिवेणी चोक शहिद पार्क उपभोक्ता समितिले आयोजना गरेको छलफलमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले डिपिआर निर्माण गरी दीर्घकालीन समाधानको लागि अगाडि बढ्नुपर्ने बताए ।

काठमाडौं क्षेत्र नं ४ का  प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नै आज बिहान ७ बजेलाई तोकेको कार्यक्रममा उनी भने राजन भट्टराई लगायत अधिकांश सहभागी गईसकेपछि आई तत्कालका लागि स्थानीय सरकारले काम गर्न सुझाव दिएका थिए ।

काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कुष्ण राईले ठूलो खर्चमा सम्पन्न गर्नुपर्ने समस्यालाई संघीय सरकारबाट बजेट बिनियोजन गराई अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेस सभा सदस्य छिरिङ दोर्जे लामा,  न्हुच्छे नारायण श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईले आफ्नो धारणा राखेका थिए भने स्थानीयहरुले हिलोले पारेको समस्याबारे बताएका थिए ।

खरिबोट त्रिवेणी चोक शहिद पार्क उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर बुढाथोकीको संचालनमा भएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाले डोजर उपलब्ध गराउने र गोकर्णेश्वर नगरपालिकाले गिटी उपलब्ध गराई तत्कालको समस्या समाधान गरिने सहमति भएको समितिकी कोषाध्यक्ष गीता मिश्र पुडासैनीले परिवर्तन खबरलाई बताईन् ।

प्रतिक्रिया दिनुहोस्