बूढानीलकण्ठ नगरपालिकाको ‘दशौं नगर सभा’ उद्घाटन : २ अर्ब २० करोडको वार्षिक बजेट प्रस्तुत



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको दशौं नगरसभामा उपप्रमुख अनिता लामाले आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

यस वर्षको बजेटमा शहरी विकास, भवन निर्माण तथा विविध पूर्वाधार निर्माणमा २२ करोड ९० लाख, नगर अस्पताल निर्माण सम्पन्न गर्न ५ करोड, वडा कार्यालयहरुको भवन निर्माण गर्न ४ करोड, शिक्षा सुधारमा ६ करोड २५ लाख, स्वास्थ्य क्षेत्रमा ६ करोड ८५ लाख, पर्यटन विकास विस्तारमा २ करोड ९५ लाख, सुशासन सेवा प्रवाह, संस्थागत क्षमता विकासमा ३ करोड ५ लाख, सडक निर्माण ४ करोड ४० लाख, खानेपानी व्यवस्थापन ७ करोड, उर्जामा ७ करोड ४५ लाख विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा आम्दानीतर्फ आन्तरिक राजस्वबाट २९ करोड २५ लाख, मालपोत रजिष्ट्रेसन शुल्क ६५ करोड, प्रदेश सरकार सवारी साधन कर ५ करोड १० लाख ४१ हजार, मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क १३ करोड १६ लाख ४१ हजार, बनबाट प्राप्त रोयल्टी १० लाख, केन्द्र सरकार समानीकरण अनुदान २९ करोड ३९ लाख, केन्द्र सरकार शसर्त अनुदान ३५ करोड ६५ लाख, केन्द्र सरकार विशेष अनुदान २ करोड, प्रदेश सरकार समानीकरण अनुदान ३ करोड ७३ हजार, प्रदेश सरकार शसर्त अनुदान २ करोड ७ लाख ८१ हजार, प्रदेश सरकार समपुरक अनुदान २ करोड ९९ लाख ३५ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख र अन्य आय ३३ करोड २२ लाख ९९ हजार हुने अनुमान गरिएको छ ।

नगर प्रमुख अधिकारीद्वारा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको सभामा नगर उप–प्रमुख अनिता लामा, नगरसभा सदस्यहरू र सल्लाहकारहरू, निवर्तमान नगर प्रमुख र उपप्रमुख, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो । आगामी बैठक २०७९ साल असार २५ गते बस्ने गरी स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्