उडान रोके चुप लागेर नबस्ने महानिर्देशक अधिकारीको चेतावनी



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एउटै बिमानस्थलमा सबै वायुसेवा कम्पनीका जहाज राख्न नसकिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कम्पनीको जहाज एकै ठाउँमा राख्नका लागि ठाउँ नै अभाव हुने बताए ।

प्राधिकरणकै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको बताए । उक्त असहजता हटाउन कुल जहाजको ६७ प्रतिशत काठमाडौँ बाहिर राख्न निर्देशन दिइएको उनले बताए ।

‘रत्नपार्कमा बस कोचेजस्तो एकै ठाउँमा जहाज खचाखच राख्न मिल्दैन,’ उनले भने, ‘आफ्नो बेस भएकै ठाउँमा जहाजहरु बस्नुपर्छ ।’

महानिर्देशक अधिकारीले वायुसेवा कम्पनीले उडान बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । काठमाडौँ बेस नभएकाहरुले काठमाडौँमा बस्न नपाए सबै उडान बन्द गर्छु भनेर धम्की नदेखाउनसमेत उनले चेतावनी दिए ।

निजी वायु सेवा सञ्चालक संघले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौँबाहिर राती राख्नुपर्ने व्यवस्था नहटाए बुधबारदेखि वायु सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरणका महानिर्देशकले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

प्राधिकरण र वायुसेवा कम्पनीबीच नङ र मासुको जस्तै सम्बन्ध हुने भन्दै उनले आर्थिक विस्तारका लागि दुवैको भूमिका महत्वपूर्ण हुने बताए ।

उडान बन्द गर्ने निर्णय गलत भएको भन्दै महानिर्देशक अधिकारीले भने, ‘सानो गल्तीले ठूलो क्षति हुनेछ । जनताले दुःख परे प्राधिकरण चुप लागेर बस्ने छैन ।’

दुई महिनाअघि नै बुद्ध, यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेर बेस बाहिर राख्ने निर्णय गरिएको उनले बताए ।

उडान डिले हुने, यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबीच झगडा हुने, ग्राउन्ड ह्यान्डलिङमा समस्या हुने जस्ता कारणले स्वीकृति लिएको बेस अनुसार उडान गर्न निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

उनका अनुसार हेलिकोप्टरअन्तर्गत २१ वटा काठमाडौँ र १७ वटालाई बाहिर बेस राख्न दिइएको जानकारी दिए । फिक्स विङतर्फ १७ वटा काठमाडौँ र बाँकी ३५ वटा उपत्यका बाहिर राख्न निर्देशन दिइएको सिटौलाले बताए ।

कम्पनीले काठमाडौँ बाहिरको बेस फेरबदल गर्न पाइने व्यवस्था रहेको उनले जानकारी दिए । प्राधिकरणले यसका लागि आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्