बूढानीलकण्ठ शिक्षा महाशाखाले थाल्यो शैक्षिक अडिट : जनजागृतिका प्रअले प्राप्त गरे ८० अंक



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहको आगमनपछि नगर शिक्षाको क्षेत्रमा परिवर्तनको संकेत देखिएको छ ।

स्थानीय निर्वाचन अघि सामूदायिक विद्यालयका सबै प्रधानाध्यापकहरुलाई २६ बुँदे करार गराएका उनले प्रधानाध्यापकहरुले कार्य सम्पादन करार अनुसार कार्य गरे नगरेको बुझ्न प्रधानाध्यापक कार्य सम्पादन करार मूल्यांकन मापदण्ड २०७९ मार्फत कार्य सम्पादन सूचन निर्धारण गरी शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक सहित विद्यालयका शिक्षकहरु र विद्यार्थीहरु समेतको सहभागीतामा खुला छलफल मार्फत मूल्यांकन थालिएको हो ।

नगरपालिकाले शुरु गरेको शैक्षिक अडिटमा आज जनजागृति माध्यमिक विद्यालय, जगडोलका प्रधानाध्यापकले १०० मा ८० अंक प्राप्त गरी मापदण्ड अनुसार कार्य गरेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले शिक्षा महाशाखाको अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै नियमित अनुगमन र मूल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षा महाशाखाका प्रमुख ललित विक्रम सिंहले हजारौं बालबालिकाको भविष्य गुणस्तरीय शिक्षामा निर्भर रहेकोले सामूदायिक विद्यालयमा सूचना, प्रविधिको प्रयोग गरी बालबालिकाहरुलाई प्रतिस्पर्धी र सीपमूलक बनाउनुपर्ने बताए ।

कार्यक्रममा महाशाखा प्रमुख सिंहले २६ बुँदे करार मूल्यांकनमा पहिलो पटक उत्तीर्ण नहुने प्रधानाध्यापकहरुलाई सचेत गराउने, दोस्रो पटक समेत उत्तीर्ण नगरे स्पष्टीकरण सोध्ने र तेस्रोपटक पनि उत्तीर्ण नभए प्रधानाध्यापकबाट हटाउने नगर शिक्षा नीति रहेको जानकारी गराए ।

कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा खेलकुद नभएको, विज्ञान प्रयोगशाला राम्रो नभएको, अकाउन्ट शिक्षक नभएको र पुस्तकालय प्रयोग गर्न नपाएको गुनासो गरेका थिए । विद्यालयका अन्य शिक्षकहरुले तहगत प्रधानाध्यापक नभएको, पर्याप्त शिक्षक र शैक्षिक सामाग्री नभएको गुनासो गरेका थिए ।

बूढानीकलण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय बाल उद्धार माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि गरेका प्रयास र राम्रा प्रयोगहरुबारे सहभागीहरुलाई अनुभव बताएका थिए । शिक्षा महाशाखा विद्यालय निरीक्षक इन्द्र दाहालद्वारा संचालित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उनले आफ्नो कार्यकालमा विद्यालयको भौतिक र शैक्षिक क्षेत्रमा सुधार हुँदै गएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्