बूढानीलकण्ठ नगरवासीमा उपप्रमुख अनिता लामाको अपिल !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले सामाजिक संजाल फेसबुक मार्फत सम्पूर्ण नगरवासी एवम् शुभेच्छुक, शुभचिन्तकहरुमा कार्य सम्पादन प्रभावकारिताको लागि अपिल जारी गरेकी छिन् ।

बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएसँगै स्थानीय तह निर्वाचनको चरण पुरा भएको जानकारी गराउँदै उनले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई समेत बधाई ज्ञापन गरेकी छिन् ।

सामाजिक संजाल मार्फत जारी गरिएको अपिलमा उपप्रमुख लामाले, ‘नगर कार्यपालिकाको पूर्णतासँगै सम्पूर्ण जनप्रतिनिधिहरू अब पूर्णरूपमा पालिकाको कार्य सम्पादनमा समर्पित भएर लाग्नुपर्ने भएकाले अब उप्रान्त आदरणीय सम्पूर्ण नगरवासीहरू एवं हाम्रा शुभेच्छुक, शुभचिन्तकहरूमा हामी जनप्रतिनिधिलाई सहज गरिदिनुभई हाम्रो कार्य सम्पादन प्रभावकारिताका लागि सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौं’ भनेकी छिन् ।

उपप्रमुख अनिता लामाद्वारा जारी अपिलका बुँदाहरु :

१. पालिकामा सक्रिय कामकाजको समय १०ः००–२ः३० बजेसम्म मिलाउने गरी अन्य प्रसङ्गको भेटघाटको समय दिउँसो २ः३० बजेपछि मात्रै व्यवस्थापन गर्न सकिने हुनाले सोही बमोजिम सहजता पारिदिनुहुन अनुरोध ।

२. पालिकाको कार्यकक्षमा टीका, माला, खादा सहित बधाई, शुभकामना दिन भेटघाट कार्यक्रमका लागि अनुरोध नगर्न हुन अनुरोध ।

३. भेटघाटको समय अधिकतम् १० देखि १५ मिनेटभित्र सकिने गरी सहयोग गरिदिनुहुन अनुरोध ।

४. संघसंस्था समुदाय मार्फत आयोजना गरिने शुभकामना, बधाई तथा सम्मान कार्यक्रमहरूलाई आफ्नो वडाको सबै जनप्रतिनिधि उपस्थित गराई परिचयात्मक तथा योजना प्रस्ताव, राय सुझाव संकलन, स्थानीय समस्या र चुनौतीलाई सु–सूचित गर्ने कार्यक्रमको रूपमा रूपान्तरित गर्नहुन र सकेसम्म कार्यालय समय भन्दा अतिरिक्त समयमा आयोजना गर्नहुन अनुरोध ।

५. जनप्रतिनिधि संलग्न हुने कार्यक्रम तथा भेटघाटहरू छिटो, छरितो र मितव्ययी बनाउनहुन अनुरोध ।

प्रतिक्रिया दिनुहोस्