राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल, सङ्घीय संसद्को बैठक



राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद भैरवसुन्दर श्रेष्ठ, शेखरकुमार सिंह, भगवती न्यौपाने, विमला घिमिरेले आ–आफ्नो असहमतिको कुराहरु बैठकमा राखेका छन् । संशोधनका बुँदामा नीति तथा कार्यक्रममा ‘एक घर : एक धारा’ कार्यक्रम रहेको छ । बुँदामा ‘चार लाख ६६ हजार नागरिकलाई उच्च र मध्यमखालको खानेपानी दिने भन्ने रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी दिनुपर्ने हो । कसलाई उच्च र कसलाई मध्यम खालको खानेपानी दिने हो सरकारसँग जवाफ चाहान्छौँ’ भनिएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयो भनेर भनिएता पनि अत्यन्तै झेलझाल र धाँधली गरेर लज्जाबोध हुने तरिकाले निर्वाचन सम्पन्न भएको उल्लेख गरिएको छ । अघिल्लो सरकारले ल्याएको एक हजार ४०० भन्दा बढी सडक निर्माणका योजना हटाएकोप्रति बैठकमा संशोधनकर्ता सांसदको धारणापछि नियमितरुपमा दलीय आधारअनुसार नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्