२१ जेठमा राताे मच्छिन्द्रनाथको भोटो देखाइने, १२ वर्षे जात्रा



ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।

उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्