नेकपा एमालेबाट निर्वाचित बूढानीलकण्ठका जनप्रतिनिधिको विजय जुलुस सम्पन्न (फोटो फिचर)



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरुको विजय जुलुस गत शनिवार (जेठ ७) गते सम्पन्न गरेको छ ।

नेकपा एमालेका नेताहरु निर्वतमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधान सभा सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराई, प्रमुख सचेतक दीपक निरौला सहितको उपस्थिति रहेको जुलुसमा पार्टी कार्यकर्ताहरु संस्कृति झल्कने भेषभुषा, बाजा–गाजा सहित उपस्थित भएका थिए ।

मूल ब्यानर, वडा स्तरीय ब्यानर र खानेपानी सहित मुख्य टोल तथा चोकहरुमा स्थानीयहरु नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागतमा देखिएका थिए । बूढानीलकण्ठ स्कूल, विष्णुमतीबाट सुरु भएको विजय जुलुसले बूढानीलकण्ठ मन्दिरको परिक्रमा पश्चात चपली घुम्ती, गणेश चोक, हात्तिगौडा, स्पेशल चोक, गोल्फुटार चोक, गोल्फुटार बास्केटबल कोर्ट, कुमारी मन्दिर, मितेरी पुल, आकाशेधारा, मिलनचोक, तेन्जिङ्ग चोक, खरिबोट, कृष्ण मन्दिर, गणेश मन्दिर लसुनटार, चुनिखेल लगायतका स्थानहरु परिक्रमा गरेको थियो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले बूढानीलकण्ठ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख सहित नगरपालिकाभित्र रहेका १३ वडामध्ये १० वडामा जित हासिल गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामाको जितले नेकपा एमालेले बर्चस्व बूढानीलकण्ठमा अझ बढी देखिएको छ ।

नगरप्रमुखमा निर्वाचित अधिकारीले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दी बिनोद चालिसेलाई २७३८ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् भने उपप्रमुखमा पनि अनिता लामाले नेपाली काँग्रेसकै उम्मेद्वार रमिला वाग्लेलाई २३४२ मतले पराजित गरेका हुन् ।

नगरप्रमुखमा १४२५० मत प्राप्त गर्दै मिठाराम अधिकारी विजयी हुँदा उनकाप्रतिद्वन्दी विनोद चालिसेले जम्मा ११५१२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा १४३१४ मतले अनिता लामा विजयी हुँदा काँग्रेसकी रमिला वाग्ले ११९७२ मतका साथ उपविजेता बनिन् ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १, ७, ८, १०, १२ र १३ मा नेकपा एमालेले शतप्रतिशत नतिजा हासिल गरेको छ भने वडा नं. २, ६, ९ र ११ को अध्यक्षमा आफ्नो दावेदारी कायम गरेको छ । त्यस्तै नगरभित्रका दुईवटामा नेपाली काँग्रेस र एउटामा स्वतन्त्र विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्