नेपाल नागरिक उड्डयनले भन्यो – ७० करोड बक्यौता उठाउन नसकेको



नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल हरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयन सम्बन्धि समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरु बाटै सो बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको हो ।

उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थल हरुबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्य कारण गैरजिम्मेवारी पन रहेको बताए । उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आएपनि त्यसले बोर्ड बैठक समेत बोलाउन नसकेको भनिएको छ ।

उपसमितिका संयोजक राजभण्डारीले भने, ‘झण्डै झण्डै १ अर्व ७० करोड बक्यौता रुपैयाँ उठाउन नसकेको देखिन्छ भने अर्कोतिर विदेशी संस्थाहरूसँग पनि पैसा उठाउन नसकेको प्रष्टसँग देखिन्छ । यसमा सम्बन्धित निकायहरुको गैरजिम्मेवारीपन मुख्य कारण देखिन्छ । नेपाल वायु सेवा निगमको हकमा नयाँ नेतृत्व आएपनि महिनौं बैठक समेत बस्न नसकेको पाइएको छ ।’ उपसमितिको प्रतिवेदनमा नागरिक उड्डयन सम्बन्धि समस्या र ती समस्याहरूको समाधानका लागि सरकार र सम्बन्धित निकायहरूलाई समितिले जिम्मेवार भएर काम गर्न सचेत गराउनुपर्ने सुझाव पनि दिइएको छ ।

उपसमितिका संयोजक राजभण्डारीले विमान सेवाको माध्यामबाट मुलुकको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमको पुरानै संरचना र सोही अनुसारको सोचको कारण यसले प्रगति गर्न नसकेको निष्कर्ष समेत उपसमितिको प्रतिवेदनमा निकालिएको छ । यसैबीच, समितिको बैठकमा परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद आगामी असार मसान्तसम्म थप गर्ने प्रस्ताव पनि पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्