रौतहटको कटहरिया नगरपालिका–३ मा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप



रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।

निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको छ । रिता देवीको पनि शरीरमा चोट लागेको बताइएको छ । घाइते दम्पतीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ ।

निर्वमान वडा अध्यक्ष र कृषनन्दको बीचमा पुरानो रिसिइबीका कारण सामान्य झगडा भएको रौतहटका एसपी विनोद घिमिरेले बताए । उनले भने–‘पुरानो रिसिइबिका कारण सामान्य झगडा भएको हो, पूर्व सूचनाको आधारमा प्रहरी परिचालन गरेको हुनाले ठुलो झगडा भएन ।’ निवर्तमान वडा अध्यक्ष उमेश यादवले आफूले कुटपिट गरेको अस्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्