अर्थमन्त्रीले प्रस्तुत गरे आगामी बजेटका १० सिद्धान्त, ११ प्राथमिकता (पूर्णपाठ)



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७९८० का लागि बजेटका लागि अर्थमन्त्री शर्माले १० ओटा सिद्धान्त र ११ किसिमका प्राथमिकता संसदमा प्रस्तुत गरेका हुन् ।

दैनिक उपभोग्य वस्तुको आयात उच्च रुपमा बढेको, आन्तरिक उत्पादन बढ्न नसकेको जस्ता विषय चिन्ताको विषय भएको उनले बताएका छन् । आगामी वर्षको बजेटलाई कृषि उत्पादन बढाउने र सामावेशी आर्थिक विकाससहितको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागि सहयोगी हुने गरी बजेट ल्याउने उनले बताए ।

उनले नेपालको संविधान, १५ औं पञ्चवर्षीय योजना, सहस्राब्दी दीगो विकास लक्ष्य र वर्तमान गठबन्धन सरकारले तय गरेका साझा कार्यक्रमका आधारमा बजेट निर्माण गरिने बताए ।

रोजगारी वृद्धि, दीगो पूर्वाधार निर्माण, उत्पादनमूलक उद्योगको विकास, जनता आवास जस्ता कार्यक्रमलाई समेटेर बजेट ल्याइने उनले बताए ।

अर्थमन्त्रीले पेश गरेका बजेटका सिद्धान्त तथा प्रथामिकता विषयक प्रस्तावमाथि ४ र ५ जेठमा संसदको बैठकमा छलफल हुने कार्यक्रम रहेको सभामुख अग्नी सापकोटाले संसदलाई जानकारी गराएका छन् ।

यस्ता छन् अर्थमन्त्री शर्माले पेश गरेका बजेटका सिद्धान्त तथा प्राथमिकता

१. सङ्घीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण

२. समष्टिगत आर्थिक स्थायित्व

३. समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण

४. सन्तुलित र समावेशी आर्थिक विकास

५. ग्रामीण विकास

६. सामाजिक न्याय

७. आत्मनिर्भर अर्थतन्त्रको निर्माण

८. विनियोजन कुशलता र मितव्ययी

९. सेवा प्रवाहमा सुधार र सुशासन प्रवर्द्धन

१०. स्रोत परिचालनमा प्रभावकारिता

प्राथमिकता

१. कृषि क्षेत्रको विकास

२. औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्धन

३. पूर्वाधार विकास

४. ऊर्जा क्षेत्रको विकास

५. सामाजिक क्षेत्र (स्वास्थ्य क्षेत्र र शिक्षाको विकास)

६. पर्यटन क्षेत्रको पुनरुत्थान

८. सामाजिक सुरक्षा कार्यक्रम

९. जनसांख्कि लाभको उपयोग

१०. अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी

११. जल वायु परिवर्तन र वातावरण संरक्षण

प्रतिक्रिया दिनुहोस्