चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी (विश्लेषणसहित)



काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी १५५ मतान्तर र उपाध्यक्षमा दिलामाया मगर १३५ मतान्तरले विजयी भएका छन् ।

नेकपा एमालेका खड्गबहादुर कार्कीले ४५६० मत ल्याउँदा नेपाली काँगेसका नवराज केसीले ४७१५ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रसकी कुषा पुलामी ४४७८ र नेकपा एमालेकी दिलामाया मगरले ४६१३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडाध्यक्षहरुमा चम्पादेवी १ बाट नेपाली काँग्रेसका कुल बहादुर श्रेष्ठले प्यानल सहित विजयी हासिल गरेका छन् । चम्पादेवी २ बाट नेपाली काँग्रेकै विष्णु पुलामी सहित ४ र एमालेबाट १ सदस्य विजयी भएका छन् । वडा नं. ३ नेकपा एमालेका धनबहादुर श्रेष्ठको प्यानलै विजयी भएका छन् । वडा नं. ४ मा नेपाली काँग्रेसका इन्द्र केसी अध्यक्ष निर्वाचित भए भने अन्य ४ सदस्यहरु एमालेबाट निर्वाचित भए । वडा नं. ५ नेपाली काँग्रेसका मोहन तामाङको प्यानलै विजयी भए । वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका गणेश केसीको प्यानलै विजयी भएका छन् । वडा नं. ७ मा नेकपा एमालेका सुरेश थापाको प्यानलै विजयी भएका छन् । वडा नं. ८ मा नेपाली काँग्रेसका हरि बराल सहित ४ सदस्यीय र एमालेबाट एक महिला सदस्य निर्वाचित भए । वडा नं. ९ मा नेपाली काँग्रेसका सुजन पौडेलको प्यानलै विजयी भए । वडा नं. १० मा नेपाली काँग्रेसका रोहित ढुङ्गेल सहित दुई सदस्यीय निर्वाचित भए भने नेकपा एमालेका दुई सदस्यले विजय हासिल गरे ।

चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष बनेका नवराज केसी पूर्व गाउँपालिका अध्यक्ष समेत हुन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका खड्गबहादुर कार्की पछिल्लो समय नेकपा माओवादीबाट एमाले प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कार्कीलाई टिकट दिईएको भन्दै एमाले गाउँपालिका अध्यक्ष खेम मिश्रले खरायो चिन्ह लिएर स्वतन्त्रमा उम्मेद्वारी दिएका थिए । एमाले गाउँपालिका अध्यक्ष खेम मिश्र खरायो चिन्ह लिएर कुदेपछि पार्टी संगठनमा नकारात्मक प्रभाव पार्याे । हराउने र जिताउने भूमिकामा खरायोले प्रभाव नपारेपनि पार्टी कार्यकर्ताबिच आत्मविश्वासमा कमी ल्यायो ।

तत्कालिन नेकपा माओवादीको जनयुद्धका बेला माओवादीबाटै पिडित एमाले स्थानीय नेताहरुले नेकपा एमालेको माथिल्लो जिम्मेवारीमा रहेकै अवस्थामा पार्टी उम्मेद्वारलाई सहयोग गर्नुको साटो हराउन निर्णायक भूमिका खेलेको एमाले ओखलढुङ्गा स्रोतले बताएको छ ।

यसरी पार्टी उम्मेद्वार हराउन भूमिका खेल्नेहरुमा पार्टीका केन्द्रिय लेखा आयोग सदस्य, पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकारहरु समेत रहेको जानकारी परिवर्तन खबरलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्