धनुषामा काँग्रेसका ७ र एमालेका ४ वडाध्यक्ष विजयी



धनुषा जिल्लाका विभिन्न पालिकामा गरी अहिलेसम्म ७ वडामा नेपाली काँग्रेस र ४ वटा वडामा नेकपा एमाले विजयी भएको छ । यस्तै, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल एक/एक वडामा विजयी भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ र २ मा काँग्रेसले जितेको छ । वडा नम्बर १ को वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर २ मा पनि काँग्रेसकै शिवकुमार साह निर्वाचित भएका छन् ।

त्यस्तै मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा काँग्रेसकै जोगी महतो ७३५ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । त्यस्तै एमालेले लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर १ र २ तथा विदेह नगरपालिकाको वडा नम्बर १ र २ मा जित हात पारेको छ ।

लक्ष्मीनिया गाउँपालिका–१ को वडाध्यक्षमा दिलिप यादव र वडा नम्बर २ मा लालजी साह विजयी भएका छन् भने विदेह नगरपालिका वडा नम्बर १ मा ३७२ मत ल्याई संजय साह र वडा नम्बर २ मा ३८४ मत ल्याई रामपुकार सहनी विजयी भएका छन् ।

त्यस्तै जनकनन्दनी गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीका सन्तोष गोइत ४१२ मत, कमला नगरपालिका–१ मा माओवादीका सर्वदेव यादव र हंसपुर नगरपालिका–१ मा जसपाका रामदेव कापडी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्