मतपत्र देखाएका बाबुरामलाई आयोगको २४ घण्टे स्पष्टीकरण



काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखाको पालुङटारमा मतदान गरिरहेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आफूले मतदान गरिरहेको मतपत्रमा छाप लगाएको फोटो खिच्न लगाई उनले सामाजिक संजाल मार्फत फोटो सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको फोटो गोप्य मतदानको खिलाप भएको भन्दै आयोगका कानुन अधिकृत मोहनराज जोशीले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोधेको जानकारी गराए ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्