खोटाङको दिप्रुङ चुईचुम्माका वडाध्यक्ष थापामगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा निधन



खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैशाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो ।

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । काँग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो ।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए ।

प्रतिक्रिया दिनुहोस्