स्थानीय संचारकर्मीसँग मिठाराम अधिकारीको अन्तरक्रिया, सतहमै देखियो व्यक्तिगत तिक्तता



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठको तर्फबाट नगरप्रमुखका उम्मेद्वार बनेका मिठाराम अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को सम्मुखमा स्थानीय सञ्चारमाध्यमसँग छलफल गरेका छन् ।

व्यस्तताका बाबजुत छोटो अन्तरक्रिया तथा छलफल कार्यक्रममा अधिकारीले प्रतिवद्धता पत्र अक्षरस पालना गर्ने वाचा गरेका छन् । कार्यक्रममा बूढानीलकण्ठका स्थानीय तहका दर्जन भन्दा बढी संचारमाध्यमको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मीसँगको अन्तरक्रियामा नगरप्रमुखका उम्मेद्वार मिठाराम अधिकारीलाई स्थानीय संचारमाध्यका प्रतिनिधिहरुले विभिन्न प्रश्नहरु सोधका थिए जसमा उनले सटिक र विवेकपूर्ण ढङ्गले उत्तर दिएका थिए । एक स्थानीय अनलाइन संचार माध्यमका संचालक तथा सम्पादकले ‘कपनका खोला राजकुलाहरूमा ढल हाल्ने निर्णय ठीक थियो कि थिएन ?’ भनी गरेको प्रश्नमा अधिकारीले, कपनमा बढ्दै गएका शहरीकरण र अव्यवस्थित बसोबासका कारण खोलानालामा ढल मिसिन पुगेको तर आफूले त्यसलाई सही हो भनेर नस्विकारेको बताए । अहिले पनि आफू त्यसको विरुद्धमा रहेको जनाए ।

जनताको सेवा नै आफ्नो धर्म ठान्ने अधिकारीले आफू निर्वाचित भए वा नभएपनि कपनको डुबान समस्याको लागि डा. राजन भट्टराईको पहलमा आनी गुम्बाबाट तरकारी बजारसम्म डिपिआर पुरा भई निर्माण प्रक्रियामा रहेको कल्भर्टलाई समय अगावै पुरा गरी तरकारी बजारदेखि साततलेसम्म डिपाआर हुन बाँकी रहेको कल्भर्ट समेतलाई बिस्तार गरी पाथीभारा बस्ती हुँदै धोबीखोलासम्म निर्माण पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

घना बस्तीमा ढल हाल्नु हुन्छ ? भन्ने प्रश्नमा मिठाराम अधिकारीले बक्स कल्भर्ट पनि अहिले ढलकै रुप रहेको र जनताको माग र आवश्यकता पनि यहि नै भएकोले यसलाई पुरा गर्नुपर्ने बताए ।

सार्वजनिक जग्गा संरक्षण तथा प्रकृति दोहन सम्बन्धी प्रश्नमा अधिकारीले साविक कपन गाविस र बूढानीकलकण्ठ नगरपालिकाका सार्वजनिक जग्गा संरक्षणका लागि फाइल बोकेर अख्तियार दुरुपयोग आयोगसम्म पुगेको स्मरण गर्दै अहिले पनि आफू केहि ठाउँको जग्गा बचाउन अदालतमा तारिक धाइरहेको बताएका छन् ।

प्रकृति दोहन र सार्वजनिक सम्पत्ति दुरुपयोग रोक्ने आफ्नो पहिलो र प्राथमिकताको काम रहेको भन्दै अधिकारीले नगरपालिका भित्रका सबै जग्गा र जमिनको उपयोगका लागि भू–संरक्षण नीति बनाएर अघि बढ्ने बताए ।

प्रतिवद्धता पत्र पूरा गर्ने कुरामा तपाई कतिको विश्वस्त हुनुहुन्छ ? भन्ने प्रश्नमा विगतमा आफूले गाविसको घोषणा पत्र २ बर्ष भित्रमै पुरा गरेकोले बूढानीलकण्ठ नगरपालिकाको प्रतिवद्धता पत्र पनि ५ बर्षभित्रै पुरा गरिसक्ने बताए ।

नगरपालिकालाई आफ्ना र आफन्तको जागिर खाने थलो बनाउनु हुन्छ कि हुन्न ? भन्ने अन्तिम प्रश्नमा उनले भने, ‘मेरा पनि छोरीहरु  मास्टर्स डिग्री गरेका छन् उनीहरु अहिले निजी विद्यालयमा पढाइरहेका छन् । उनीहरुलाई कदापी म नगरपालिकामा जागिर खुवाउने काम गर्दिन ।’

छोटो समयका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय संचारकर्मीहरुले नगरप्रमुखका प्रत्यासी उम्मेद्वार मिठाराम अधिकारी र नियोजित ढङ्गले कपोकल्पित रुपमा प्रकाशन भईरहेका समाचारका सम्पादक तथा संचालकको तिक्तताको विषयमा समेत चर्चा गरेका थिए । साविक कपन गाविसको २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा मिठाराम अधिकारी र सदस्यमा उनी निर्वाचित भएता पनि कार्यकाल पुरा नभई उनले बिचैमा सहयात्रा छोडी अन्य पार्टी प्रवेश गरेको देखिन्छ ।

२० बर्षअघिदेखिको तिक्तताले अहिलेको रुप लिईरहेको उपस्थित संचारकर्मीहरुको ठम्याई रहेको थियो । हेर्दै जाउँ आउने दिनमा मिठाराम अधिकारी र उनको तिक्तताले कुन मोड लिने हो ?

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

‘म नेकपा एमालेको नगर प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्छु’ : मिठाराम अधिकारी (पूर्णपाठसहित)

ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु

एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

प्रतिक्रिया दिनुहोस्