अब एमालेको झुटको खेती नटिक्ने : काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर



नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाएका छन्। ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ’ शुक्रबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै महरले भने। उनले अब एमालेको झुटको खेती नटिक्ने बताएका छन्।

उनले काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताएका छन्। ‘काँग्रेस जनताको पार्टी हो। हामीलाई सधैँ जनताको माझमा जानु छ। भ्रम छरेर एक पटक त चुनाव जितिएला। तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिने छन्’ उनले भने।

नेता महरले दुई तिहाइको सरकार हाँकेका ओलीको कार्यकालमा भएको विकासको हिसाब जनताले खोज्ने बेला आएको बताए । ‘स्थानीय निर्वाचनका उम्मेदवार र दलहरूलाई जवाफदेही बनाउनु पर्छ। हामी हाम्रा प्रत्येक उम्मेदवारहरूलाई विकास र जनजीवनका सवालमा जवाफदेही बनाउने छौं’ महरले भने, ‘२०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमाले कांग्रेसले जितेका पालिकाको अवस्था हेर्दा काँग्रेसले जितेका स्थानीय तह निकै माथि रहेका छन्।’
देश अप्ठ्यारोमा पर्दा काँग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सिर्जना गर्न महरको आग्रह छ। ‘देश शान्तिप्रक्रियामा काँग्रेसको नेतृत्वमा गयो। संविधान काँग्रेसकै नेतृत्वमा जारी भयो। संसद् विघटन हुनबाट काँग्रेसले नै जोगायो। अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको रक्षा काँग्रेसले नै गर्‍यो। विकास निर्माणका काम काँग्रेसले नै गर्छ। स्थानीय तहको निर्वाचन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ। त्यसो भए एमालेलाई किन विजयी गराउने ?’ उनी भन्छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमताले नै शान्तिपूर्ण रूपमा देश चुनावमा होमिएको महरको दाबी छ। यसले देउवा र काँग्रेसको मात्र नभएर विश्वमा नेपालकै छवि राम्रो हुने उनले बताए। पछिल्लो समय देशले विकासको लय समातेको भन्दै महरले विदेशी सहयोग पनि बढ्दै गएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्