देशकै कान्छी पालिका प्रमुख बन्दैछन् एमालेकी सिर्जना लामा



काठमाडौं । रसुवा जिल्लाको दुर्गमक्षेत्र मानिने सरमथली गाविस वडा नं.५ ९परिबर्तित नौकुण्ड गाउँपालिका–४० मा बुवा लवाङ  नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी सिर्जना लामा २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर सबैलाई चकित पारेकी थिईन् । विजयसँगै उनी नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष मात्र नभएर नेपालभरिकै सबैभन्दा कम उमेरकी जननिर्वाचित उपाध्यक्ष बन्न सफल भईन । आफ्नो पार्टी नेकपा ९एमाले० भित्रका ५ जना महिला प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै उम्मेदवार बन्न सफल सिर्जना, काँग्रेस, माओवादी र नँया शक्तिकी संयुक्त उम्मेदवारलाई समेत पराजित गर्न सफल भईन । युवाहरु माझ अति नै लोकप्रिय सिर्जना उपाध्यक्षमा निर्वाचित भएपछि अहिले सबै युवाहरुको प्रेरणाकी श्रोत बन्न सफल भएकी छन् । उनै सिर्जना अहिले नेकपा एमालेको तर्फबाट नौकुण्ड गाउँपालिकाको प्रमुखमा सर्वसम्मत सिफारिस भएकी छन् ।

सिर्जनाको पढाई र बाल्यकाल

परिवारका सात सदस्य मध्ये सिर्जना तामाङ बुवाआमाको दोश्रो सन्तान हुन् । उनको परिवारमा जेठी दीदी, कान्छी बैनी र दुई भाइहरु छन । दीदी, बहिनी र भाइहरुसँग रमाउंदै स्कूल जाने सिर्जनाले तीन विद्यालय फेर्दै आफ्नो स्कुले पढाई सकिन । नमूना प्राविमा १ देखि ३ सम्म पढेकी सिर्जनाले दुप्चेश्वरी आधारभूत विद्यालयमा ४ र ५ उतिर्ण गरिन भने निर्कु भूमे माविबाट प्लस टू पुरा गरिन ।

१० कक्षा सम्मको पढाईमा ग्रामिण भेगका आम युवा झैँ खेतीपाती, दाउरा घाँस गर्दै हुर्किएकी सिर्जना प्रायः खाना पकाएर आमालाई घरमा सघाउने गर्दी रहिछन् । २०५४ सालमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित बुवा लवाङ नुर्पु लामालाई माओवादीले जनयुद्धकालमा गाउँमा बस्न नदिएपछि उनी आमा र दिदीको साहारामा गाउँमै हुर्किएकी थिईन् । उनले एसएलसी दिएसँगै एकमात्र दिदीको विवाह भएपछि घरको पुरै जिम्मेवारी सम्हालेर खेतीपाती देखि जागिरसम्म धान्न थालिन ।

राजनीतिक यात्रा

विद्यालय अध्ययनको शिलशिलामा पटकौं भागेर माओवादीबाट जोगिएकी सिर्जना ८ कक्षा देखि एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भएर काम गरेकी थिईन् । तीन वर्ष अनेरास्ववियु क्रियाशील रहेकी उनी जागिरे जीवनपछि भने राजनीतिमा सक्रिय हुन सकिनन् । छोटो समयमा पनि अनेरास्ववियुको जिल्ला र केन्द्रीय अधिवेशनमा प्रतिनिधिको रुपमा छानिएर उनले राजनीतिमा अनुभव थप्न सफल भईन ।

शिक्षिका जीवनपछि स्थानीय संस्था मानेकोर सोसाइटी नेपालको शैक्षिक परियोजनामा रहेर विभिन्न गाविसमा कार्यक्रम संचालन गर्ने सिर्जना समाजमा निकै परिचित थिईन । निर्वाचित नहुनु भएको भए के गर्नु हुन्थ्यो भन्ने हाम्रो प्रश्नमा सिर्जनाले भनिन्, ‘म उपाध्यक्ष निर्वाचित हुनु अघि मासिक २५००० कमाउँथे र अर्काे परियोजनाको लागि हेल्वीटासमा पनि नाम निस्किसकेको थियो ।’ हाँस्दै भनिन् ,’सायद अझ धेरै तलब खाने थिएँ होला नि !’

उम्मेदवार हुँदाको चुनौती

उनी भन्छिन, शुरुमा पार्टीका साथीहरुले नै २५ वर्ष नपुगी उम्मेदवार हुन नपाईने बताएका थिए । तिमी त जम्मा १८÷१९ त भयौं नि ! भनेर टार्न खोजे । हामीलाई पनि संविधान पढ्न आउँछ ! कहाँ छ २५ वर्ष ? उम्मेदवार हुन २१ वर्ष हो, म पुगिसकेकी छु । हाँस्दै सिर्जना भन्छिन, ‘झन्नै आफ्नैले चिप्लाए !’

कसले उम्मेदवार बन्ने सल्लाह दियो भन्ने हाम्रो प्रश्नमा सिर्जना थप्छिन, ‘मैले चुनावको बारेमा सुनें, बुझें, अनि बुवालाई सोधें, बुवाले हुन्छ भनेपछि जनार्दन ढकालसँग कुरा गरें । उहाँले पनि सकारात्मक जवाफ दिएपछि  पार्टीका अरु कमरेडहरूसँग पनि छलफल गर्न थालें ।

पार्टीमा अरु ५ जना कमरेडहरूले पनि उपाध्यक्षको दावी गर्नु भएको थियो । मेरो शैक्षिक योग्यता, सामाजिक क्रियाशीलता र बुवाले पार्टीलाई पुर्याएको योगदानको कारण नै म छानिएको हुनुपर्छ, उनी थप्छिन  । म उम्मेदवार भएपछि भने सबै महिला प्रतिस्पर्धी कमरेडहरुबाट पूर्ण सहयोग पाएँ ।

उनी भन्छिन, ‘चुनावी अभियान निकै गाह्रो थियो । गठबन्धनसँग भिड्नु पर्दा कठिन त थियो नै तर जित्छु भन्ने आत्मविश्वास भने थियो । चुनावी प्रचारमा विपक्षीले सिर्जना विहे गरेर गएपछि हाम्रो उपाध्यक्ष पद नै जान्छ । उसलाई भोट दिनु हुँदैन समेत भनेर निकै दुष्प्रचार गरे तर मैले धेरै गाउँहरुमा काम गरेको हुनाले प्रतिष्पर्धी महिला भन्दा म नै बढी परिचित थिएँ । मैले मलाई विपक्षीको आरोपमा नलागी सहयोग गर्नुहोस्, म तपाईहरुकै साथमा हुन्छु भन्दै सयौं भाषणहरु गरे । सबै युवाहरु मेरो पक्षमा लागेका थिए, जनताले मेरो विश्वास गरे त्यसैले म आजको अवस्थामा छु ।

उपाध्यक्ष हुँदाको अनुभव

८३ मतको अन्तरले मैले जितेकी हुँ । पार्टी र जनताले पत्याए पछि मैले पनि आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नुपर्छ भन्ने राम्ररी बुझेकी छु । विकास निर्माणसँग जोडिने बैठकहरु हुनु पूर्व पार्टी कमिटीमा छलफल गर्छु तर पार्टीले दिएको निर्देशनले धेरै जनताको हित गर्छ कि गर्दैन, त्यो विश्लेषण गर्छु, अनि आफ्नो विवेकको प्रयोग पनि गर्छु । पार्टीको निर्देशन भन्दा बाहिर कुनै काम गर्नु भएको छ त ? भन्ने हाम्रो प्रश्नमा उनले हाँस्तै भनिन् ‘एउटा विकास योजना पार्टीको निर्णय भन्दा फरक गरेकी छुँ ।’

सामाजिक काममा लामो समयदेखि लागेको हुनाले अहिलेको काममा खासै गाह्रो छैन । न्याय क्षेत्रमा गहिरो ज्ञान नभएको कारणले भने अलि असजिलो महसुस गर्छु । यसैले न्याय सम्पादनका कतिपय कामहरु नेपाल प्रहरीसँगको परामर्श र छलफलको आधारमा गर्ने गर्छु ।

गरेका काम

फरक–फरक पार्टीका जनप्रतिनिधिहरु भएपनि हामी आपसी सल्लाहमा नै काम गर्छाै । मेरो खास जिम्मेवारी अनुगमन र न्याय सम्पादन भएकोले मैले आफ्नो काम राम्ररी गरेकी छु । कृषि, शिक्षा, स्वास्थ्य, मोटरबाटो, विजुली विस्तारमा केन्द्रित रहेर विकासका कामहरु गरिरहेका छौं । विकास योजनाहरुको अनुगमन र मूल्यांकन मैले नै गर्ने भएकोले छलकपटको कुनै गुन्जायस नै छैन ।

योजनामा महिला र बालबालिकालाई विशेष ध्यान दिने गरेकी छु । कानुनमा भएर पनि पहिले नछुट्टिने महिला बजेटलाई म आएपछि पूर्णरुपमा लागु गरेकी छु । महिलालाई आत्मनिर्भर बनाउन घरेलु उद्योग र सामुहिक खेती तर्फ प्रेरित गर्दैछु ।

भावी योजना

काम गर्ने राम्रो अवसर पाएकी छु, आफ्नो ज्ञान, क्षमता, अनुभव र अग्रजहरुको सल्लाह मै कार्य सम्पादन गर्छु । मलाई पूर्ण विश्वास छ, ‘बुवाआमालाई गर्व गर्न लायक छोरी, समाजले गर्व गर्ने जनप्रतिनिधि र युवाहरुलाई उत्साह भर्ने युवा बन्ने छु ।’

राजनीतिक यात्रालाई निरन्तरता दिंदै जनताको आर्थिक समृद्धीको अभियानमा क्रियाशील रहने छु । मेरो सफलतामा परिवारको ठूलो साथ छ, पार्टीले मलाई पत्याएर जिम्मेवारी दिएको छ, जनताले पत्याएका छन्, सबैलाई गर्व गर्न लायक काम गर्ने छु ।

युवाकी ढुकढुकी रसुवाकी छोरी २७ बर्षीय सिर्जनालाई आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नौकुण्ड गाउँपालिका प्रमुखको रुपमा सर्वसम्मत उम्मेद्वार भएकी छन् ।

परिवर्तन खबरसँगको छोटो कुराकानीमा चुनाव जित्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘पाँच बर्षसम्म जनताको सेवामा समर्पित भएको कारण सजिलै चुनाव जित्छु भन्ने लाग्छ ।’

यो पनि पढ्नुहोस्

एमाले रसुवामा पाँचै पालिकाका उम्मेदवार सर्वसम्मत

प्रतिक्रिया दिनुहोस्