एमालेमै फकिए दैलेखका सचिव मानबहादुर खड्का



काठमाडौं । माधव कुमार नेपालको भ्रममा परेर नेकपा एमाले छाडेको भन्दै नेकपा एकीकृत समाजवादी दैलेखका जिल्ला सचिव मानबहादुर खड्का फेरी एमालेमै फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन् ।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो । उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका खड्का एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला सचिव बनेका थिए । २०५४ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन कट्टी गाविसको उपाध्यक्षमा निर्वाचित भएका खड्काले जिल्लाको कम्युनिष्ट आन्दोलनमा सकारात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय बनाएका छन् ।

एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीको जिल्ला सचिवको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । उनले कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुद्धृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमालेमै फर्किएको बताए । नेता खड्काले पार्टी विभाजनपछि नेकपा एमाले भन्दा बाहिर रहेका सबै नेता कार्यकर्तालाई पार्टी एकता र कम्युनिष्ट आन्दोलनका रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्