बक्सिङ टोलीको स्वागत



काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी भइ ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।

थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले १ कांस्य पदक जित्यो । महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन् । पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाइ पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसंग प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलमा पुनम ३–२ ले पराजित भएकी थिइन् । रिजाले पछि स्वर्ण नै जितिन् ।

सन् २०१० मा दीपक महर्जनले जितेको कांस्यपछि कुनैपनि नेपाल खेलाडीले यो प्रतियोगितामा पदक जितेको पहिलो भएको बक्सिङ संघले जनाएको छ । त्यसबेला उक्त प्रतियोगिता किङ्स कपका नाममा हुने गथ्र्यो ।

पुरुष ६३ केजीमा भुपेन्द्र थापा मगर तथा महिला ५१ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गरेका थिए । भुपेन्द्र र मिनु १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

स्वागत कार्यक्रममा अध्यक्ष अवालेले आफूले पनि विगतमा उक्त प्रतियोगिताको दुई संस्करणमा सहभागिता जनाएको स्मरण गर्दै भने– ‘मैले पनि यो प्रतियोगिताको दुई संस्करण खेले । बक्सिङको उच्चस्तरीय प्रतियोगिता मध्येको एक हो । त्यत्ति बेला यो प्रतियोगिता किङ्स कपको नाममा हुन्थ्यो । सबै खेलाडीले उच्च प्रदर्शन गरे । तपाईंहरुले सबै नेपालीको मन जित्ने प्रदर्शन गर्नु भएको छ ।’

टोलीसंगै फुकेट गएका बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले छोटो तयारीका बावजुद खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए । आईबा वान स्टार रेफ्री÷जज धनकुमार मैनालीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्