नेकपा एमाले दुधौली नगरप्रमुखमा ६ र उपप्रमुखमा ३ को दावेदारी (परिचय सहित)



काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ६ जना प्रमुख र ३ जना उपप्रमुखले दावेदारी पेश गरेका छन् ।

दावेदारी गर्नेमा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्यहरु घनश्याम राउत, तारानिधी पोखरेल र हेमबहादुर लामा रहेका छन् । त्यसैगरी जिल्ला कमिटी सदस्यहरु तिर्थ बराल, खेटराज अधिकारी र दुधौली नगरकमिटी पार्टी अध्यक्ष लक्ष्मण कार्की रहेका छन् ।

उपप्रमुखमा दावेदारी गर्नेमा बालकुमारी अधिकारी दनुवार, पुष्पा धामी दनुवार र सुकुमाया तामाङ रहेका छन् ।

को हुन प्रत्यासीका उम्मेदवारहरु ?

घनश्याम राउत

वर्तमान नगरप्रमुख रहेका घनश्याम राउत नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य हुन् । विगतमा दुधौली गाउँ विकास समितिका अध्यक्ष समेत रहेका राउत अप्ठ्यारो, साँघुरोमा पार्टीलाई जस्तोसुकै सहयोग गर्न सक्ने नेताका रुपमा परिचित छन् ।

तारानिधि पोखरेल

नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य रहेका तारानिधि पोखरेल नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका नेता हुन् ।

पत्रकारिता र प्राध्यापन गर्दै दुई दशक काठमाडौंमा विताएका पोखरेल विगत केही वर्षदेखि स्थानीय भूगोल राजनीतिमा जोडिएर काठमाडौं छोडेका छन् ।

हेमबहादुर लामा

जुझारु र लडाकु स्वभाव भएका हेमबहादुर लामा जिल्ला विकास समिति सिन्धुलीका पूर्व उपसभापित समेत भईसकेका व्यक्ति हुन् ।

विकास, निर्माण र समाजसेवालाई जीवनको मुख्य लक्ष्य बनाउने लामा नेकपा कालदेखि नेकपा एमाले हुँदै पार्टीको मूल प्रवाहमा क्रियाशील रहेका छन् ।

तिर्थ बराल

नेकपा एमाले सिन्धुलीमा बैचारिक नेताको छवि बनाएका जिल्ला कमिटी सदस्य तिर्थ बराल सिन्धुलीको शिक्षा क्षेत्रमा समेत परिचित नाम हो ।

भूमिगतकालदेखि राजनीतिलाई आदर्श बनाएका बरालले विगतमा दुई दशक भन्दा बढी उच्च शिक्षामा प्राध्यापन गरेका छन् भने अहिले दुधौलीको वडा नं. २ मा निजी विद्यालय संचालन गरी गुणस्तरीय शिक्षामा समेत योगदान दिईरहेका छन् ।

खेटराज अधिकारी

नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य तथा गैसस महासंघ सिन्धुलीका अध्यक्ष समेत रहेका खेटराज अधिकारी समाजसेवाको क्षेत्रमा परिचित नाम हो ।

अधिकारीले सहकार्य नेपाल मार्फत गरिवी निवारण, आयआर्जन वृद्धि, नेतृत्व विकास, रोजगारी सिर्जना जस्ता परियोजना संचालन गरी आधारभूत तहका नागरिकसँग प्रत्यक्ष जोडिएर योगदान पुर्याईरहेका छन् ।

लक्ष्मण कार्की

नेकपा एमाले दुधौली नगरकमिटीका अध्यक्ष रहेका लक्ष्मण कार्की दुधौली क्षेत्रका पुराना पार्टी कार्यकर्ता हुन् ।

गत स्थानीय तहको निर्वाचनमा समेत प्रमुखको दावेदार रहेका उनी पार्टीको आन्तरिक समझदारीपछि वर्तमान नगरप्रमुख घनश्याम राउतलाई जिम्मेवारी दिदै पार्टी जिताउने अभियानमा सक्रियतापूर्वक लागेका व्यक्ति हुन् ।

बालकुमारी अधिकारी

दुधौली नगरपालिकाकी उपप्रमुख बालकुमारी अधिकारी आदिवासी समुदायको प्रतिनिधि पात्र हुन् ।

अघिल्लो निर्वाचनमा खासै परिचित नहुँदा पनि निर्वाचित हुन सफल उनी विवादमा नमुछिएकी जनप्रनिनिधि समेत हुन् ।

पुष्पा धामी दनुवार

अनेरास्ववियुबाट राजनीतिमा लागेकी पुष्पा धामी दनुवार नयाँ पुस्ताको आशा लाग्दी आदिवासी समुदायकी नेतृ हुन् ।

विद्यार्थी राजनीतिदेखि पत्रकारितासँग जोडिएकी उनी दनुवार समुदायकी सम्भावना बोकेकी युवा उम्मेद्वार हुन् ।

सुकुमाया तामाङ

नेकपा एमाले सिन्ुधलीमा महिला नेतृहरुमध्ये अग्रज महिला नेतृमा गनिने सुकुमाया तामाङ भएका मध्ये इमान्दारिपूर्वक राजनीतिमा निरन्तरता दिने त्यागी नेतृ हुन् ।

समाजसेवा, आयआर्जन र विकासलाई जीवनको पर्याय बनाएकी तामाङ दुधौली नगर क्षेत्रकी सबैभन्दा पुरानो महिला नेतृ समेत हुन् ।

राजनीति सम्भावनाको खेल हो । उम्मेदवारी दिनु, अघिल्लो निर्वाचनमा गरेका वाचाहरु अर्काे निर्वाचन आउँदा नआउँदै तोडिने परम्पराले नेकपा एमालेभित्रको राजनीति समेत सरल रेखाबाट हिडेको देखिदैन् ।

स्थानीय निर्वाचन जित्न आर्थिक लगानीलाई आधार मान्ने मनोविज्ञान भएकोले यसपटक पनि दुधौली नगरपालिकामा नयाँ अनुहारको प्रवेश सजिलो देखिदैन् ।

प्रतिक्रिया दिनुहोस्