नेकपा एमालेबाट दुधौली १ मा चन्द्रप्रसाद पहाडी सर्वसम्मत



काठमाडौं । आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ मा नेकपा एमालेबाट चन्द्रप्रसाद पहाडी सर्वसम्मत उम्मेद्वार चयन भएका छन् ।

नेकपा एमाले दुधौली वडा नं. १ को बृहत भेलाबाट पहाडी सर्वसम्मत रुपमा चयन भएको नेकपा एमाले सिन्धुलीका नेता तिर्थ बरालले परिवर्तन खबरलाई जानकारी गराए ।

शहिद ऋषिराज देवकोटा “आजाद” बाट प्रशिक्षित भएका पहाडी वि.सं. २०३२ सालदेखि कम्युनिष्ट पार्टीप्रति आकर्षित भएका थिए । २०४२ सालमा नेकपा मालेमा आवद्ध भएका पहाडी नेकपा माले र नेकपा एकीकृतको एकतापछि २०४७ साल फागुनमा सम्पन्न नेकपा एमाले हत्पते गाउँपार्टी कमिटीको संस्थापक सदस्य बने ।

२०४८ सालको आम निर्वाचनमा नेकपा एमाले उम्मेद्वार गोमा देवकोटाको चुनावी अभियानमा सक्रिय बनेका पहाडी २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले हत्पते वडा नं. ८ को वडाध्यक्षको उम्मेद्वार बनेका थिए । त्यसपछि नेकपा एमाले ईलाका कमिटी सदस्य समेत बने ।

२०६९ सालमा तिर्थ बरालको नेतृत्वमा बनेको दुधौली १ वडा कमिटीको सदस्य बनेका पहाडी २०७३ सालमा नेकपा एमाले दुधौली १ का अध्यक्ष बने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकतापछि नेकपा दुधौली १ का पार्टी अध्यक्ष बनेका पहाडी २०७८ कात्तिकमा सम्पन्न नेकपा एमाले दुधौली नगर कमिटीको अधिवेशनबाट नगर कमिटी सचिवालय सदस्य र वडा नं. १ को पार्टी ईञ्चार्जको जिम्मेवारीमा रहेका छन् ।

विगतदेखि नै सिन्धुलीमा हत्पते गाविस नेपाली काँग्रेसको किल्लाको रुपमा परिचित छ । २०७४ को स्थानीय निर्वाचनमा समेत नेपाली काँग्रेसले विजयी गरेको यस वडामा कम्युनिष्ट जनमत बढी हुँदाहुँदै विभिन्न दलमा विभाजित भएको कारण सधै काँग्रेसले जित्ने गरेको छ ।

विशेषगरी पहाडी समुदायको निर्णायक मत रहेको उक्त वडामा पहाडी समाजको जिल्ला नेता समेत रहेका चन्द्रप्रसादलाई उनीहरुले आफ्नो कुल वंशको प्रतिनिधिको रुपमा छान्न सके भने पहाडीको पल्ला भारी हुनेछ ।

विशेषगरी नेकपा एमालेभित्रका युवाहरुले युवा उम्मेद्वार माग गरिरहेको अवस्थामा उनीहरुको भावनालाई सम्मान गर्न सकिएन भने परिणाम जटिल हुने देखिन्छ ।

पार्टीमा लामो समय त्याग गरेका चन्द्रप्रसाद पहाडी जस्ता त्यागी नेताहरुलाई पार्टीले अवसर दिँदा पार्टीमा मूल्याङ्कन हुन्छ भन्ने विश्वास जागृत हुन्छ । युवा कार्यकर्ता भावनालाई सम्बोधन गर्र्दै पहाडी बन्धुहरुको साथ सहयोग रहने हो भने दुधौली १ मा एमालेको सूर्य झण्डा फहरिने सुनिश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्