नेकपा एमालेबाट बूढानिलकण्ठ–११ को वडा अध्यक्षमा पुनः राजु अधिकारी सर्बसम्मत



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को संगठित सदस्य भेलाले आगामी स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षमा राजु अधिकारीलाई पुनः सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा अधिकारी पुनः सिफारिस भएसँगै दलित महिला सदस्यमा रत्ना नगर्ची पनि दोस्रो पटकका लागि पुनः सर्वसम्मत सिफारिस भएकी हुन् ।

जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको भेलाले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अधिकारी र नगर्चीलाई सर्वसम्मत सिफारिस गरेको हो ।

को हुन् राजु अधिकारी ?

वि.सं. २०२७ सालमा जन्मिएका बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गर्दै कक्षा ८ बाटै राजनीतिमा प्रवेश गरेका हुन् ।

सानैदेखि चन्चले र जिज्ञासु स्वभावका वडाध्यक्ष अधिकारीले २०४६ सालमा एसएलसी पास गरेका हुन् । एसएलसी लगत्तै जीवनमा केहि गर्नुपर्छ भन्ने उद्देश्य लिएका अधिकारीले २०४७ सालमा नेपाली सेनाको खुल्ला प्रतिस्पर्धाबाट तेस्रो स्थानमा नाम निकाल्न सफल भएका थिए । शिर्ष तीनमा नाम भएता पनि उनले तालिमको समयावधी पुरा नहुँदै सेनाभित्रको अपाच्य गतिविधिका कारण जागिर छाड्ने निर्णय गरे ।

२ दाजु र १ दीदी सहित परिवारमा कान्छो सन्तानका रुपमा जन्मिएका वडाध्यक्ष अधिकारी २०४९ सालमा बैवाहिक जीवनमा बाँधिएका हुन् । हाल उनका एक छोरा र एक छोरी रहेका छन् ।

जागिर खाएर अरुको मातहतमा बस्नुभन्दा समाज परिवर्तनको लागि केही गर्नुपर्छ भन्ने धारणा राखेका उनले २०५१ सालमा राधाकृष्ण बहुउद्देश्यीय सहकारीको स्थापना गरी केही व्यक्तिहरुलाई रोजगारी समेत दिएका थिए । सहकारीलाई निरन्तरता दिदैं थप कृषिमा पनि केहि गर्नुपर्छ भनी वडाध्यक्ष अधिकारीले २०५७ सालमा कुखुरा फार्म खोलेका थिए । आफूजस्तै व्यवसायी हुन अरुलाई समेत प्रोत्साहन गरेका अधिकारीलाई त्यसमा खासै सफलता मिलेन ।

व्यवसाय सोचेअनुरुप नचलेपछि वडाअध्यक्ष अधिकारीले ०५९ बाट यातायात क्षेत्रमा समेत हात हालेका थिए । यातायात क्षेत्रसँगै उनले ०६० मा आफ्नै जग्गामा बालुवाखानी समेत संचालन गरेका थिए । पुनः २०६४ बाट यातायात व्यवसायलाई निरन्तरता दिँदै उपत्यका स्वयम्भु बस व्यवसाय समितिको कोषाध्यक्ष रहेर दुई कार्यकाल काम गरेको अनुभव समेत उनी सुनाउँछन् ।

राजु अधिकारीको राजनीतिक यात्रा

कक्षा ८ बाटै राजनीतिमा प्रवेश गरेका वडाध्यक्ष अधिकारीले विभिन्न आवश्यकता परिपूर्ती गर्न व्यवसायसँगै राजनीतिक यात्रा समेत जारी राखेका थिए । वि।सं २०४४ सालमा युवा संघमा आवद्ध भएका उनले २०४८ सालमा युवासंघ क्षेत्रीय सहसचिवको भूमिका निर्वाह गरी पार्टीको काम गरेका थिए ।

वि।सं। २०५२ सालमा जिल्ला समन्वय समितिको सदस्य भएका उनी २०५४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कपन गाविस वडा नं ४ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनीसँग कपन गाविस विकास निर्माण अनुगमन समितिको पार्टी प्रतिनिधि, नागरिक वडा मञ्च संयोजकको समेत अनुभव रहेको छ ।

विगतमा नेकपा एमालेको बूनपा–११ मा चुनावी नतिजा

बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता राजु अधिकारीले १२७५ मत ल्याई वडा नम्बर ११ मा निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अच्युत प्रसाद पौडेलले १०५६ मत ल्याइ उपविजेता बनेका थिए।

नेपाली काँग्रेसको बलियो वडाको रुपमा गणना गरिएको वडा नम्बर ११ मा एमालेका अधिकारीले २१९ मतले जितेपछि गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार उपविजेतामा सिमित भएका थिए।

राजनीतिक भन्दा समाजसेवामा बढी प्रभाव पार्ने राजु अधिकारीलाई यसपटकका पनि पार्टीले पुनः दोस्रोपटक उम्मेद्वारको लागि सिफारिस गरेको छ ।

यो पनि पढ्नुहोस्

आपतकालिन अवस्थामा निजी गाडी निःशुल्क दिने वडाध्यक्ष अधिकारीको घोषणा

‘बूनपा ११ लाई नगरकै पर्यटकीय हब बनाउँछु’ : वडाध्यक्ष अधिकारी

जनशक्ति अभावले बजेट हुँदा पनि काम  गर्न सकिएन : वडाध्यक्ष राजु अधिकारी

प्रतिक्रिया दिनुहोस्