बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नयाँ पुस्ताको दाबेदारी !



काठमाडौं । २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै देशभर चुनावी माहोल तात्तिदै गएको देखिन्छ । अझ देशको राजधानी काठमाडौं चर्चा परिचर्चा हुने स्थान मध्येको एक हो । त्यसमा पनि काठमाडौंको उत्तरी भेगमा पर्ने देशकै दोस्रो धेरै जनसंख्या भएको बूढानीलकण्ठ नगरपालिकामा नगरप्रमुखको पदमा युवा आकांक्षीको घोषणा लोभलाग्दो देखिन्छ ।

अहिलेसम्म नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका युवाहरुमा नेकपा एमालेबाट नवराज भट्टराई, नेपाली काँग्रेसबाट बद्री (दामोदर) भट्टराई र स्वतन्त्र युवा सुमित खरेल देखिएका छन् ।

उम्मेद्वारी घोषणा गरेका स्वतन्त्र उम्मेदवार सुमित खरेल केही महिना अघिदेखि नै चुनावी प्रचारमा होमिएका छन् भने अन्य युवाहरु संचारमाध्यम र सामाजिक संजालमा केन्द्रित रहेका छन् । उम्मेद्वारी घोषणा गरेका तीन युवा उम्मेद्वारहरुमध्ये सबैभन्दा बढी सम्भावना बोकेका बूढानीलकण्ठ १० का वडाअध्यक्ष तथा नगरप्रवक्ता नवराज भट्टराई हुन् ।

गत निर्वाचनमा नेता भट्टराईले विपक्षी उम्मेद्वारलाई हजार भन्दा बढी मतले पराजित गरेका थिए । यद्धपि नेकपा एमालेका धेरै अनुभवी र योगदान पुर्याएका नेताहरु मैदानमा भएकोले उनले टिकट पाउन भने निकै कठिन हुने देखिन्छ ।

वर्तमान नगरप्रमुख उद्धव खरेलको सचिवालयमा ४ वर्ष सहयोगीको रुपमा काम गरेका स्वतन्त्र उम्मेदवार सुमित खरेलले टिकट पाउने पक्का जस्तै देखिन्छ । तर नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु धेरै भएको यस नगरपालिकामा स्वतन्त्र युवा खरेलले निर्वाचन जित्न भने असम्भव प्राय देखिन्छ । यद्धपि युवा पुस्तामा पुरानो नेतृत्वप्रति देखिएको बृतिष्णाले पुराना पुस्तालाई टक्कर दिन भने उनी सक्षम देखिन्छन् ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ मा क्षेत्रीय सचिवको जिम्मेवारी पाएका बद्री भट्टराई सामाजिक क्षेत्रमा समेत क्रियाशील युवा हुन् । वर्तमान गठबन्धन सरकारको कारण बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुख नेपाली काँग्रेसले पाउने वा नपाउने टुङ्गिएको छैन । यदि नेपाली काँग्रेसले नगरप्रमुखको भाग पाएपनि पुरानो काँग्रेसका स्थापित नेताहरुलाई पछि पार्दै टिकट पाउन भट्टराईको लागि फलामको चिउरा सरह हो । यद्धपि नेपाली काँग्रेसभित्र युवापुस्ताको प्रतिनिधित्व गर्ने उनी क्षमतावान र प्रभावशाली युवा हुन् ।

अबको १५ दिनभित्र सबै पार्टीहरुले वडाध्यक्ष सहित नगरप्रमुख, उपप्रमुखको टुङ्गो लगाउनेछन् । अहिले चर्चामा आएका दुई युवाहरु चुनावी मैदानमा टिकट नपाएपनि स्वतन्त्र उम्मेद्वार सुमित खरेल मैदानमै हुनेछन् । निर्वाचन परिणाम उनको पक्षमा हुने सम्भावना निकै कम भएपनि उनले प्राप्त गर्ने मतले युवा पुस्ताको राजनीतिक चेतलाई प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्