सत्ता गठबन्धनको बैठक, चुनावी तालमेल मुख्य एजेन्डा



स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १०:३० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिका छन् । महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।

बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ साथै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्