दुर्लभ पक्षी चिरकालिज लोप हुने अवस्थामा



र्चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको पाइन्छ ।

यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो । नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पक्षी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ । उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोल्र्याङ र चिसापानीलगायतका जङ्गलमा पाइने उनले बताए ।

सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । उनले भने, “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ ।” यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । ठूला–ठूला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताए । उनले भने, “१०–१२ वर्ष अघिसम्म हामी जङ्गल जाने क्रममा सडक छेउछाउँमा भेटिन्थ्यो, तर आजकल देखिँदैने, अरु कालिजभन्दा यो लोपोन्मुख भएर होला ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ । पर्वतमा यो कालीगण्डकी नदि, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइएको वन अधिकृत सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्