बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कपन स्थित बालउद्दार मा.वि.ले उचाल्यो उप-विजेताको ट्रफी



“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा फागुन २३ देखि फागुन २५ गतेसम्म सञ्चालन भएको बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालयलाई पछि पार्दै बालउद्दार मा.वि. उपविजेता बनेको छ।

सिमित साधन, श्रोत र लगानीमा बालउद्दार माध्यमिक विद्यालयका विद्यार्थीहरुले बूढानीलकण्ठ नगरपालिका भित्र आफूलाई अब्बल भन्न रुचाउने निजि विद्यालयलाई पछि पार्दै ७ स्वर्ण पदक, ५ रजत पदक र ७ कांस्य पदक जितेर अतिरिक्त क्रियाकलापमा समेत स्थापित शैक्षिक संस्थाको रुपमा बालउद्दार मा.वि.ले पहिचान बनाउन सफल भएको छ।

उपविजेता बनेको बालउद्दार माध्यमिक विद्यालयले पदक सहित नगद रु. ३०,००० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


देशभरिका अब्बल विद्यार्थी छनोट गरी अत्यन्तै सुविधासम्पन्न भवनमा १२०० विधार्थीहरुलाई आवासीय सुविधा सहित अतिरिक्त क्रियाकलापलाई निकै महत्व दिने बूढानीलकण्ठ आवासीय मा.वि.ले १८ स्वर्ण पदक, ११ रजत पदक र ३ कांस्य पदक हात पारेर प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । यसको साथै नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै नारायणस्थान स्थित बूढानीलकण्ठ मा.वि.ले २ स्वर्ण , १ रजत र ५ कांस्य पदक सहित प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्यो। बूढानीलकण्ठ नगरपालिका सामाजिक विकास समितिकी संयोजक शान्ता ढकालको अध्यक्षता र नगर प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बिजेताहरुलाई प्रमाणपत्र, मेडल, प्रमाणपत्र र विद्यालयलाई नगद पुरस्कार गरिएको थियो।

बूढानीलकण्ठ नगरपालिका भित्रका सामुदायिक र निजि गरी २४ वटा माध्यमिक विद्यालयहरू सहभागी भएको दोश्रो राष्ट्रपति रनिङ्ग शिल्डमा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश थिए ।

४७६ जना छात्र र ३५३ छात्रा सहित ८२९ जना खेलाडीहरुले दोश्रो रनिङ्ग शिल्डमा प्रत्यक्ष सहभागिता जनाएको शिक्षा शाखाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्