महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाखका बत्ती र फूलले सजाइँदै



महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलिमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरुप झिलिमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए । फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो । बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।

यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

प्रतिक्रिया दिनुहोस्