बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै



जिल्लामा १३ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियान अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।

हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २।४६ प्रतिशतमा सङ्क्रमण देखिएकाले आम औषधि सेवन अभियान १३ औँ पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः सङ्क्रमण देखिएको थियो । त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ ।

इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा दुई जनामा सङ्क्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।

आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कम मानिसमा सङ्क्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । एकजना मात्रै सङ्क्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकलाई औषधि खान आग्रह गरे ।

गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखले सङ्क्रमण देखिएको क्षेत्रमा मात्रै आम औषधि सेवन अभियान चलाउने वा सबै स्थानीय तहमा जाँचको व्यवस्था गर्न माग गरेका थिए । ‘हामीले आम औषधि सेवन चलाउदा समाजमा जाने बुझेका शिक्षक नै औषधि खान मान्नुहुन्न, हाम्रोमा जाँच भएको होइन हामीले किन खाने भन्नुहुन्छ रु’ गलकोट नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले भनिन्, ‘पटक–पटक सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीलाई असहज भइरहेको छ ।’

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका अनुसार पाँच वर्ष लगातार सबै नागरिकले आम औषधि सेवन अभियानमा सहभागी हुँदा छैटौं पटक औषधि खानुपर्दैन । तर अभियानमा सबै सहभागी नहुँदा पटक–पटक अभियान सञ्चालन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्