राप्तीमा २० गोही छाडियो



चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुर घाटमा आज २० वटा गोही छाडिएको छ । १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो ।

प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा घडियाल गोही छाडिएको हो । कसरामा नै हुर्काइएका २० वटा गोहीलाई यही माघ १९ गते कोसी नदीको पथरीमा लगेर छाडिएको थियो ।

तीन भाले र १७ वटा पोथीलाई छाडिएको हो । कसराबाट १८ गते लगिएका गोही १९ गते छाडिएको हो । यसै वर्ष राप्तीमा कसराबाट १२ वटा गोही छाडिएको थियो । केही दिनमा नवलपरासीको दिव्यपुरीस्थित नारायणी नदीमा २० देखि २५ गोही छोड्ने कार्यक्रम रहेको छ । यस वर्ष एकसय हाराहारी गोही छाडिने उनले जानकारी दिए । हालसम्म विभिन्न नदीमा एक हजार ६३७ गोही छाडी सकिएको छ । यस वर्ष राप्ती र नारायणीका सातवटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । आचार्यका अनुसार हालसम्म राप्तीमा ८६७, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० वटा गोही रहेका छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्