बागलुङमा ८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा



जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ ।

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोर किशोरीलाई पनि खोप दिन सुरु गरिएको बताए ।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उनको भनाइ छ । कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन् । यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिए ।

कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो । सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ । “खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भने, “१२ वर्ष माथिका सबैले खोप पाउहुनुहन्छ ।”

उनका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन । सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । उनका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ ।

“खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उनले भने, “अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ ।” अस्पतालको आइसोलेशन कक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् ।

आईसीयूमा भने कुनै पनि बिरामी छैनन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेलको भनाइ छ । पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक÷स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उनको भनाइ छ ।

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ । धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो ।

प्रतिक्रिया दिनुहोस्