‘तपाइँको मास्क खै ?’



पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत थानकोट, चेकपोष्ट, बलम्बु गुर्जुधारा, सतुङ्गल, तीनथाना, नैकाप, दहचोक जस्ता नगरका मुख्य क्षेत्रमा मास्क वितरण गरिएको थियो ।

कार्यक्रमको आज समापन गर्दै चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले कोरोना नियन्त्रणमा नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताए । उनले भने, “आफूलाई पायक पर्ने स्थानमा गई कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न म नगरवासीलाई आग्रह गर्दछु ।”

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिको सहकार्यमा आयोजित सो कार्यक्रममा चन्द्रागिरि–१ का वडाध्यक्ष राजेन्द्र केसीले समाज रुपान्तरणमा जेसिज अभियान महत्वपूर्ण रहेको जनाउँदै कोरोना महामारी रोकथाम र न्यूनीकरणमा सामूहिक प्रयत्‍नको खाँचो औंल्याए ।

चन्द्रागिरि–१३ का वडाध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाइँको मास्क खै रु’ अभियान फलदायक रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दिल्लीनारायण पाण्डेले जनचेतना कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको जनाउँदै सङ्क्रमणवाट बच्न र बचाउन मास्क अहिलेका लागि प्रभावकारी माध्यम रहेको बताए । उनले भने “ चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्छ ।”

सो अभियानलाई समाजसेवी रामनारायण घिमिरेले मास्क सहयोग गर्नुभएको थियो । चन्द्रागिरि– १२ गुर्जुधारा स्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका उनले कारोनाबाट बच्न र बचाउन सामूहिक जनचेतनाको आवश्यकता औंल्याए ।

थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीले कोरोना महामारी नियन्त्रण, रोकथामका लागि थप जनचेनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, “सामाजिक कामका लागि जेसिज सबैसँग सहकार्य तयार छ । ” संस्थापक अध्यक्ष नन्ददास अमात्यले बजारक्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण अभियानका क्रममा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुन सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो । गत शनिबार माघदेखि सुरु भएको सो अभियान अन्तर्गत आजसम्म करिब १३ हजार जनालाई मास्क लगाउन प्रेरित गर्दै निःशुल्क मास्कसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा थानकोट जेसिजका पूर्वअध्यक्ष सलिम श्रेष्ठले थानकोट जेसिजको साताव्यापी कार्यक्रमलाई साथ सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै समुदायमा पर्ने हरेक समस्यामा थानकोट जेसिजले गर्नुपर्ने हरेक दायित्व लिन तयार रहेको बताए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू सलिम श्रेष्ठ, पेशल कुमार खतिवडा, मनोज श्रेष्ठलगायत बोर्डका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्