मन्दिरको भेटीबाट विद्यालय सञ्चालन



सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ ।

भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।

यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराउने गरेको छ ।

जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पु¥याउँदै आएको छ । मन्दिरमा गत वर्ष रु ८० लाख आम्दानी भएको थियो । नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्