भक्तपुरमा ९३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप



भक्तपुरमा लक्षित जनसङ्ख्याको ९३ दशमलव चार प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल दुई लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए पनि हालसम्म ८१ हजार ७०५ जनाले खोप लगाएको उनले बताए ।

यस्तै चाँगुनारायण नगरपालिकामा ८४ दशमलव ३३ प्रतिशतले खोप लगाएका छन् । यहाँ ४९ हजार ६९४ जनालाई खोप दिने लक्ष्य लिएकामा ४१ हजार ९०९ जनाले खोप लगाएका छन् । मध्यपुरथिमि नगरपालिकामा ५८ हजार ५४१ जनाले खोप लगाएका छन्, जुन निर्धारित लक्ष्यको ७८ दशमलव चार प्रतिशत हो । यहाँ ६४ हजार ६७३ जनालाई खोप दिने लक्ष्य छ ।

भक्तपुरमा खोप लगाउनेको सङ्ख्या ९३ प्रतिशत पुगे पनि अझै धेरै जनसङ्ख्या खोपको पहुँच बाहिर रहेको मिजारले जानकारी दिए । भक्तपुरमा राष्ट्रिय जनगणना २०६८ को जनसङ्ख्यालाई आधार बनाई खोप लगाउनुपर्ने सङ्ख्या निर्धारण गरिएको र २०६८ यता बसाइँसराइ तथा अस्थायी बासिन्दाको चाप बढेकाले खोप लगाउनुपर्नेको सङ्ख्या वृद्धि भएको र अझै धेरै जनसङ्ख्या खोप लगाउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्